२०८१ पुस ०४ गते
काठमाडौँ । भारतमा हुन गैरहेको भारत मोविलिटीका सन्दर्भमा नेपाल र भारतका प्रतिनिधीहरुबीच छलफल भएको छ । नेपालस्थित भारतीय दुतावासका प्रमुख बाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्यतामा नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु बीच काठमाण्डौमा अन्तरक्रिया भएको हो ।
अन्तरक्रिया कार्यक्रममा इन्जिनियरिङ्ग एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डियाका तर्फबाट पल्लवी साह, सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफ्याक्चरर्स (सीयाम) का तर्फबाट देवासिस मजुमदार तथा नाडाका अध्यक्ष करण चौधरीले भारत मोविलिटी ग्लोबल एक्सपो २०२५ को रोड शोका सम्बन्धमा आफ्नो धारणा राखेका थिए। अध्यक्ष चौधरीले नेपालको अटोमोवाइल क्षेत्रको प्रवर्द्धन र विकासका लागि भारतको सहयोग महत्वपूर्ण रहेको बताएका थिए।
यो कार्यक्रम आगामी २०२५ जनवरी १७ देखि २२ सम्म भारतको नयाँ दिल्लीको भारतमण्डपम, यसोभूमि द्वारिका र ग्रेटर नोएडामा हुन गइरहेको अटो एक्सपो—दि मोटर शो २०२५ू को सन्दर्भमा आयोजित भएको हो। यस मोटर शोमा भारतका प्रमुख अटोमोवाइल निर्माताहरूको सहभागिता रहने र यसले दक्षिण एसियाली क्षेत्रको अटोमोवाइल उद्योगमा थप सहकार्यको सम्भावना खोज्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा नाडाका तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, र केन्द्रीय कार्यसमितिका अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो। नेपाल र भारतको अटोमोवाइल क्षेत्रबीच सहकार्य र प्रवर्द्धनका विविध विषयमा गरिएको यस छलफलले दुवै देशका अटोमोवाइल क्षेत्रलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया