कर्जा माग बढ्न नसक्दा बैंकहरुमा पैसा थुप्रिने क्रम जारी, ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

२०८१ भदौ १२ गते

कर्जा माग बढ्न नसक्दा बैंकहरुमा पैसा थुप्रिने क्रम जारी, ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौँ । कर्जा माग बढ्न नसक्दा बैंकहरुमा पैसा थुप्रिने क्रम जारी छ । नयाँ आर्थिक वर्षको करिब डेढ महिना सकिन लागिसक्दासम्म पनि बैंक तथा वित्तीय संस्थामा कर्जा माग बढ्न नसक्दा बैंकहरूमा अधिक तरलता (धेरै लगानीयोग्य रकम) थुप्रिएको छ ।

प्रणालीमा पैसा थुप्रिएपछि ब्याजदर धेरै नघटोस् भनेरै राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement:

Ad
Ad

हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । अहिले तीन प्रतिशतभन्दा तल झरेकाले फेरि बजारबाट पैसा झिक्न लागेको हो ।

निक्षेप संकलन खरिदका लागि आज (बुधबार) दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आब्ह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।