दशैँ बजार : ब्यापारीहरु भन्छन् - "बाढीले ब्यापार चौपट बनायो,४० प्रतिशत मात्र ब्यापार छ"

२०८१ असोज १४ गते

दशैँ बजार : ब्यापारीहरु भन्छन् - "बाढीले ब्यापार चौपट बनायो,४० प्रतिशत मात्र ब्यापार छ"

काठमाडौँ । यतिखेर दशैँले छपक्कै छोपिसकेको छ । बजारमा दशैँ लक्षित क्रियाकलापहरु बढेका छन् । तथापी आर्थिक मन्दीसँगै हालसालै आएको बाढीका कारण बजारमा ब्यापारमा असर पुगेको ब्यापारीहरुको भनाई छ । ब्यापारीहरुका अनुसार ४० प्रतिशत मात्र ब्यापार छ । "यतिखेर यो बाटो ठेलामठेल भएर हिँड्नै नसक्ने हुनपर्ने हो, तर हेर्नुस् त बजार कस्तो छ ? यसैले बताउँछ हाम्रो ब्यापार कस्तो छ," २० वर्षदेखि न्यूरोडमा ब्यापार गरिरहेका दिनेश श्रेष्ठ भन्छन् -"जुन उत्साह र व्यापार बढ्न पर्ने हो त्यस्तो हुन सक्दै सकेन।" सोमबार न्यूरोड र असन पुग्दा मानिसहरुको आवत जावत बढेपनि ब्यापार भने गत साल जति पनि नरहेको ब्यापारीहरु गुनासो गर्दै थिए ।

कोभिडपछि विश्वब्यापी आर्थिक मन्दीको चपेटाले यस्तो भएको हो त ? भन्ने प्रश्नमा अर्का व्यवसायी सन्तोष पौडेल भन्छन् -"मूख्य कुरा लत्ता, कपडा, जुत्ता फेरी फेरी लगाउने बजारमा आएका नयाँ चिज उपभोग गर्ने युवा पुस्ता पलायन हुनुले बजारमा माग घटेको हो । लगाउने मान्छे देशमा भए त बिक्री बढ्ने हो, मान्छे नै छैनन् के ब्यापार हुने ?"  विगत ३० वर्षदेखि जुत्ताको ब्यापार गर्दै आएका उनले घरभाडा नै तिर्न धौ धौ पर्ने गरी ब्यापार सुकेको पछिल्ला दुई वर्षदेखि अनुभव गरेको अनुभव सुनाउँछन् ।

Advertisement:

Ad
Ad

ठूलादेखि स-ससाना व्यवसाय समेत अहिले माग नहुँदा सुस्ताउन पुगेको छ । त्यसमाथि हालै देशभर आएको वर्षा पछिको बाढीको असर बजारमा देखिएको छ । विशाल बजारका होलसेल ब्यापारी बिनोद अग्रवालका अनुसार विभिन्न जिल्ला र काठमाडौँकै कतिपय खुद्रा व्यापारीहरुले कपडा अर्डर गरेर किन्ने अवस्थामा थिए तर बाढी पछि आवतजावत गर्ने अवस्था नहुँदा ब्यापार ठप्पै बन्न पुग्यो । उनी भन्दै थिए-"पसलमा इन्डियाबाट मगाएको माल पनि बाढीको पानीले उतै तराईतिर अड्किएको छ, सबै भिजेको छरे, खोई ब्यापार गर्ने कि पसल बन्द गर्ने दोधारमा परियो ।"

वास्तवमा अर्थतन्त्र एउटा चक्रमा हिँडेको हुन्छ । एक क्षेत्रको आर्थिक अवस्था सवल हुने वित्तिकै भुक्तानी प्रकृया चलायमान हुँदै सबैतिर समेटिन पुग्ने हुन्छ । तर अहिले मुलुकमा मूख्य समस्या मागको सृजना हुन नसक्नु,चरम बेरोजगारी,पूँजिगत खर्च अत्यन्तै न्यून हुनु, उद्यम ब्यापार बन्द हुँदै जानु जस्ता कारणले समग्रमा आर्थिक थिती बिथोलिएको देखिन्छ । त्यसैको प्रति छायाँ दशैँ सम्मुखको बजारको अवस्था र ब्यापारले दर्शाएको बुझ्न सकिन्छ ।