२०८३ जेठ २० गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (पेमेन्ट सर्भिस प्रोभाइडर) कम्पनीका लगानीकर्ता र सञ्चालकमाथि कडा निगरानी गर्ने भएको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले नयाँ निर्देशन जारी गर्दै कम्पनीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगानी गर्ने, नियन्त्रण गर्ने वा वास्तविक लाभ लिने व्यक्तिको विस्तृत वित्तीय र कानुनी पृष्ठभूमि खुलाउनुपर्ने व्यवस्था गरेको हो।
नयाँ नियम अनुसार अब कुनै संस्थामा चुक्ता पूँजीको ५ प्रतिशत वा ५० लाख रुपैयाँभन्दा बढी लगानी गर्ने व्यक्तिले आफ्नो व्यक्तिगत विवरण, पारिवारिक विवरण, वास्तविक धनी (बेनेफिसियल ओनर) सम्बन्धी जानकारी तथा स्वघोषणा राष्ट्र बैंकमा बुझाउनुपर्नेछ।
त्यस्तै, कम्पनीको सञ्चालक वा उच्च व्यवस्थापकीय पदमा नियुक्त हुने व्यक्तिले पनि आफ्नो वित्तीय अवस्था, व्यवसायिक अनुभव र कानुनी पृष्ठभूमि खुलाउनुपर्नेछ।
निर्देशनमा नेपाल वा विदेशमा कुनै आपराधिक मुद्दा, अनुसन्धान, प्रशासनिक कारबाही वा विवादमा संलग्न भए÷नभएको जानकारी दिनुपर्ने उल्लेख छ। यसका साथै कर बक्यौता, सरकारी बाँकी रकम, कालोसूचीमा परेको अवस्था, स्वार्थ बाझिने अवस्था तथा विदेशमा सम्पत्ति रहेको÷नरहेको विवरण समेत खुलाउनुपर्नेछ।
राष्ट्र बैंकले वित्तीय प्रणालीलाई पारदर्शी, सुरक्षित र गैरकानुनी गतिविधिबाट मुक्त बनाउन यस्तो व्यवस्था लागू गरेको जनाएको छ।
प्रतिक्रिया