२०८३ असोज २८ गते
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्ममा २० वटा वाणिज्य बैंकले १७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरूको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७।३२ प्रतिशतले बढेको हो ।
अघिल्लो आर्थिक वर्ष २०८२/८३ को भदौसम्ममा वाणिज्य बैंकहरूले १६ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएका थिए । यस अवधिमा बैंकहरूको कुल नाफा एक अर्ब २२ करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको छ ।तथ्यांकअनुसार सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । नबिलले चालु आर्थिक वर्षको भदौसम्ममा एक अर्ब ८० करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले एक अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो । यससँगै बैंकको नाफा ३५.३ प्रतिशतले बढेको छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ । बैंकले भदौसम्ममा एक अर्ब ६९ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा एक अर्ब ६२ करोड ८२ लाख रुपैयाँ थियो । यस अवधिमा बैंकको नाफा ४।०७ प्रतिशतले बढेको छ ।
तेस्रो स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको भदौसम्ममा एक अर्ब २७ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले एक अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको नाफा ०.९१ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।
नाफा वृद्धिदरका आधारमा भने हिमालयन बैंक सबैभन्दा अगाडि रहेको छ । बैंकले समीक्षा अवधिमा ५७ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको भदौसम्ममा बैंकले ३७ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअनुसार बैंकको नाफा ५५.१३ प्रतिशतले बढेको हो ।
यता, सबैभन्दा कम नाफा कमाउने बैंकमा नेपाल एसबीआई बैंक रहेको छ । बैंकले चालु आर्थिक वर्षको भदौसम्ममा ४१ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३५ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बैंकको नाफा १७.३२ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया