२०८३ असोज २९ गते
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको बुधबार काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न २५औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले हाल कायम साधारण सेयरतर्फको चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १८५ रुपैयाँको १० प्रतिशतका दरले हुने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, १० प्रतिशतका दरले हुने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत सभाबाट पारित भएको छ । नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशको कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश छ ।
सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई पनि लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। बैंकको ३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजीको ८.२५ प्रतिशतका दरले हुन आउने १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। उक्त लाभांश अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि २०८३ साल आषाढ मसान्तसम्मको १३६ दिनका लागि समानुपातिक रूपमा वितरण गर्ने प्रस्ताव पारित भएको हो ।
यसैगरी, साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा स्वपुँजीमा भएको परिवर्तनसम्बन्धी विवरण पारित गरेको छ ।
सभाले बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्तावसमेत स्वीकृत गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया