२०८१ भदौ २५ गते
काठमाडौ । बैकिङ प्रणालीबाट कर्जा प्रवाह नहुने र लगानीयोग्य रकम बैंकमै थुप्रिने अवस्थाका कारण ब्याजदर अझै घट्ने संकेत देखिएको छ । यतिखेर बैंकिङ प्रणालीमा लगानीयोग्य रकम झण्डै सवा ६ खर्ब जती छ । चाडवाडको सिजनमा पनि अपेक्षित रुपमा कर्जा प्रवाह नभएपछि बैंकहरु यतिबेला निरश देखिएका छन् ।
चाडबाड आएपछि कर्जा माग हुने र लगानी हुने अपेक्षा गरेर बसेका बंैकहरु चाडबाड आइसक्दा पनि कर्जा माग नभएपछि आत्तिन थालेका हुन् । यतिखेर तीज सकिएर दशैंको लागि सामान आयात गर्न व्यवसायीलाई भ्याई नभ्याई हुने बेला हो । तर पनि सोचेअनुसार ऋण प्रवाह नभएको बैंकर्सहरुले आफै स्विकार्छन् । अधिकांश बैंकहरुले सोचेका थिए यस पटक चाहि चाडबाडमा आयातका लागि भएपनि ऋणको माग बढी आउँला भनेर । तर त्यसो हुन सकेन । नेपाल बैकर्स संघले भदौको २१ दिनमा २९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक गर्यो । तर उक्त रकम कहाँ गयो भन्ने मुख्य विषय रहेको बैंकरहरु बताउँछन् ।
महालक्ष्मी विकास बैंकका अध्यक्ष एवं सिबिफिनका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्याय सरकारका तर्फबाट कर्जाको माग बढाउने हिसाबले ठोस कार्यक्रम आउन नसकेको बताउँछन् । उनी भन्छन् -"हामी बैंकरहरु कहिले बैंकमा पैसा नभएर चिन्तित हुन पर्ने कहिले पैसा आवश्यकता भन्दा बढी ढुकुटीमा भएर पिरलोमा हुन पर्ने अवस्था छ । यो भनेको निक्कै अनकम्फर्टेबल सिचुएसन हो ।"
बैंकर्स संघका कार्यकारी सदस्य तथा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सुदेश खालिङ) चाडवाड लागेपनि बैकिङ प्रणालीको ऋण प्रवाह बढ्न नसकेको बताउँछन् । खालिङ भन्छन, ‘ऋणको अतिरिक्त माग छैन । नाडा अटो शोमा बुकिङ भएका गाडी आयातका लागि प्रतितपत्र खोलिएका छन् । केही ऋण सेयर बजारतिर गएको छ । त्यो बाहेक अन्यत्रको माग निकै कम छ । यस्तै अवस्था रहे निक्षेपको ब्याजदर अझै घट्छ । निक्षेपकर्ताले भएको पैसा अन्त लगाउँदा त्यो कतिको सुरक्षित स्थानमा जान्छ भन्ने विषयलाई गहन अध्ययन गर्नु जरुरी छ ।’
यो तथ्यांकबाट खालिङ तत्काल अधिक तरलताको समस्या तत्काल समाधान होला भन्नेमा विश्वस्त छैनन । यो कर्जा नाडा अटोशोमा बुकिङ भएको ४ हजार भन्दा बढी गाडी आयातका लागि गएको हुनसक्ने उनको बुझाइ छ ।खालिङले रेमिट्यान्स बढे पनि नेपालमा त्यसको प्रयोग गर्ने मान्छे नभएको र युवा जति विदेशीएको बताए ।
अहिले बैकिङ उद्योगमा ६४ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । निक्षेपको ९० प्रतिशतसम्म बैंकहरुले कर्जा लगानी गर्न पाउँछन् । अहिले कर्जा लगानी ५१ खर्ब ९९ अर्ब रुपैयाँ रहेको केन्द्रिय बैंकले जनाएको छ । यस आधारमा ९० प्रतिशतसम्म कर्जा लगानी हुँदा ५८ खर्ब २२ अर्ब रुपैयाँ हुन्थ्यो । तर अहिले औषतमा ७८.९८ प्रतिशतसम्म कर्जा लगानी भएको देखिन्छ । यसलाई आधार मान्दा बैकिङ प्रणालीमा अझै ६ खर्ब २३ अर्ब रुपैयाँ ऋण योग्य रकम रहेको देखिन्छ ।
अधिक तरलताको व्यवस्थापन कसरी होला भन्ने विषयमा पनि बैंकहरु पर्ख र हेरको अवस्थामा रहेको खालिङले बताए ।यता, नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेल बाह्य अर्थतन्त्र सुधार भएपनि आन्तरिक अर्थतन्त्रका केही सुचक अझै दबावमा रहेका कारण बैकिङ क्षेत्रको अधिक तरलताको व्यवस्थापनमा समस्या भएको बताउँछन् । उसो त केन्द्रिय बैंकले अल्पकालिन समाधानको प्रयास नगरेको होइन । अर्थतन्त्रले गति नलिएसम्म बैंकिङ क्षेत्र मात्रै सुधार नआउँने जानकारहरु बताउँछन् ।
यता व्यवसायीहरु पनि यसपटक व्यवसाय बढ्ने आशमा छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल व्यापार व्यवसाय बढ्नुपर्ने सिजन भएपनि खासै उत्साह ल्याउन नसकेको र आर्थिक शिथिलताको धङधङी कायमै रहेको बताउँछन् ।
ब्याजदर अझै सस्तो हुने
बैंकहरु अहिले निक्षेप धेरै नआओस भन्ने पक्षमा छन् । निक्षेप नआओस भन्नका लागि बैंकहरुले निक्षेपको ब्याजदर न्युन बनाइसकेका छन् । बैंकहरुमा ज्यादा ऋण प्रवाह हुन थालेपछि निक्षेप आकर्षित गर्न ब्याजदर बढाउँछन भने निक्षेप धेरै नथुपार्न ब्याजदर घटाउँने गरेका छन् । अहिले निक्षेपको ब्याजदर निकै न्युन भइसकेको छ । बैंकहरुमा भएको निक्षेप पनि केन्द्रिय बैंकले हरेक दिन जसो उठाइरहेको छ ।
चालु वर्ष साउन र भदौको २० गते भित्र मात्रै ५६ खर्ब ७५ अर्ब १० करोड रुपैयाँ स्थायी निक्षेप सुविधा (स्ट्याण्डिङ डिपोजिट फ्यासिलिटि, एसडिएफ) मार्फत केन्द्रिय बैंकले बैंक तथा वित्तिय संस्थाबाट पैसा उठाएका छन् । हप्ताका तीन दिन बैंक तथा वित्तिय संस्थाले स्थायी निक्षेप सुविधा (एसडिएफ) उपभोग गर्न पाउँछन् । यस्तै २१ दिने निक्षेप संकलन मार्फत चालु आर्थिक वर्षको करिब २ महिनामा ३ खर्ब ९० अर्ब ६० करोड रुपैयाँ उठाइसकेको छ ।
साधारण निक्षेपमै पाइने ब्याजदर अहिले मुद्दती निक्षेपमा दिन थालिएको छ । बैंकहरुको मुद्दतीको औषत ब्याजदर ६.५३ प्रतिशत छ । हरेक महिनाजसो ब्याजदर घटिरहेको छ । यो ब्याजदर अझै घट्ने बैकर्सहरु बताउँछन् । अहिले साधारण निक्षेपको ब्याजदर ३ प्रतिशतमै झरिसकेको छ ।
प्रतिक्रिया