२०८२ चैत ०६ गते
काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानस्थित ग्यास खानीमा भविष्यमा हमला ूनगर्नू आफू तयार भएको बताएका छन्। उनका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अनुरोधपछि इजरेल त्यसका लागि सहमत भएको हो।
यद्यपि इरानी नववर्ष 'नोरूज'को दिन इजरेलले राजधानी तेहरानमा हवाई हमला जारी राखेको छ। इरानले पनि जेरुसलेमलाई निसाना बनाएर बिहीवार राति कैयौँ क्षेप्यास्त्र प्रहार गरेको छ।
बिहीवार राति आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतन्याहूले इरान तहसनहस भइसकेको र अब युरेनिअम संवर्धन वा बलिस्टिक निर्माण गर्न असमर्थ बनेको दाबी गरेका थिए। उनले डोनल्ड ट्रम्पलाई इरानसँगको युद्धमा आफूले तानेको भन्ने आरोपको खण्डन गरे।
राति जेरुसलेम र इरानको राजधानी तेहरानमा विस्फोटन भएको आवाज सुनिएको विवरण आएको छ। त्यसअघि इरानका विदेशमन्त्रीले आफ्नो देशमा थप आक्रमण भए त्यो असहनीय हुने चेतावनी दिएका थिए।
मध्यपूर्वस्थित यूएई, कुवेत, साउदी अरब र बाहरेनजस्ता देशले आफ्नो भूमिमा क्षेप्यास्त्र वा ड्रोन आक्रमण भएको जनाएका छन्। ड्रोन हमला हुँदा कुवेतस्थित एउटा तेल प्रशोधन केन्द्रमा आगलागी भएको विवरण कुवेती सरकारी सञ्चारमाध्यमहरूले दिएका छन्।
यसैबीच, अमेरिकास्थित ह्यूमन राइट्स एक्टिभिस्ट न्यूज एजन्सी (एचआरएएनए)ले फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इरानमा मृत्यु हुने मानिसको सङ्ख्या ३,१८६ पुगेको जनाएको छ।
प्रतिक्रिया