२०८३ जेठ २५ गते
काठमाडौं । भारत सरकारले घरेलु प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास सिलिन्डरको मूल्य वृद्धि गरेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार १४.२ किलोग्राम क्षमताको घरेलु एलपी ग्यास सिलिन्डरको मूल्यमा २९ भारतीय रुपैयाँ थप गरिएको हो। नयाँ मूल्य आइतबारदेखि लागू भएको छ।
मूल्यवृद्धिपछि भारतको राजधानी नयाँदिल्लीमा घरेलु एलपी ग्यास सिलिन्डरको खुद्रा मूल्य ९१३ भारतीय रुपैयाँबाट बढेर ९४२ भारतीय रुपैयाँ पुगेको छ। यसअघि पनि गत मार्च ७ मा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा देखिएको मूल्य उतारचढाव र आपूर्ति व्यवस्थापनसम्बन्धी चुनौतीलाई कारण देखाउँदै प्रति सिलिन्डर ५० भारतीय रुपैयाँले मूल्य बढाइएको थियो।
भारतमा एलपी ग्यासको मूल्य पुनः बढेसँगै यसको प्रभाव नेपालमा पनि पर्ने अनुमान गरिएको छ। नेपालले खाना पकाउने ग्यास पूर्ण रूपमा भारतबाट आयात गर्ने भएकाले भारतीय बजारमा हुने मूल्य परिवर्तनले नेपाली बजारलाई प्रत्यक्ष रूपमा प्रभावित गर्ने गरेको छ। ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार भारतमा भएको पछिल्लो मूल्य समायोजनले नेपालमा समेत ग्यासको मूल्य बढ्ने सम्भावनाबारे चर्चा सुरु भएको छ।
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त हुने खरिद मूल्यका आधारमा मासिक रूपमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको मूल्य समायोजन गर्दै आएको छ। त्यसैले आगामी दिनमा आईओसीले पठाउने नयाँ मूल्यसूचीमा ग्यासको खरिद लागत बढेर आए नेपालमा पनि मूल्य पुनरावलोकनको दबाब बढ्न सक्ने देखिन्छ।
प्रतिक्रिया