२०८२ चैत ०५ गते
काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका माझ लेबननमा तैनाथ नेपाली शान्ति सैनिकहरूलाई सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको र उनीहरूलाई अत्यावश्यक कामबाहेक शिविरबाहिर निस्कनबाट रोक लगाइएको अधिकारीहरूले बताएका छन्।
केही दिनपहिले नेपाली बटालिअन बस्ने गरेको दक्षिण लेबननस्थित एउटा शिविरभित्र गोलाबारी भएको थियो र त्यहाँ इजरायलले प्रहार गरेको विस्फोटक सामग्री खसेको ठानिएको छ।
संयुक्त राष्ट्रसङ्घको लेबननस्थित शान्ति मिशन ९यूनिफिल०का एक सूचना अधिकारीले उक्त हमलाको अनुसन्धान चलिरहेको भन्दै पछिल्लो पटक तनाव सुरु भएयता अवस्था तरल रहेको बताए।
इजरायलले शान्ति सैनिक र तीनका संरचनामाथि आक्रमण नगर्ने आफ्नो नीति रहेको बताएको र करिब दुई साताअघि घानाका शान्ति सैनिक शिविरमा भएका गोलाबारीलाई लिएर माफी मागेको समाचार बाहिरिएको छ।
नेपाली सेनाको वेबसाइटमा राखिएको विवरणअनुसार शान्ति मिसन अन्तर्गत ५३२ जना रहेको बटालिअन दक्षिण लेबननमा खटिएको छ।
गएको शुक्रवार मेस अल जाबेलमा अवस्थित नेपाली शान्ति सैनिक शिविरमा इजरायलले प्रहार गरेका विस्फोटक पदार्थ खसेको बताइएको थियो। सो आक्रमणको पुष्टि गरेको संयुक्त राष्ट्रसङ्घले त्यहाँको गोलाबारीमा संलग्न पक्षबारे भने अनुसन्धान गरिरहेको उल्लेख गरेको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले शुक्रवार साँझको उक्त घटनापछि अहिले अवस्था सामान्य रहेको बताए।
प्रतिक्रिया