घरमै पासपोर्ट पुर्‍याउने सेवा मकवानपुरमा वैशाख २ गतेबाट

२०८२ चैत २४ गते

घरमै पासपोर्ट पुर्‍याउने सेवा मकवानपुरमा वैशाख २ गतेबाट

मकवानपुर । सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्य योजनाअनुसार मकवानपुरमा घरमै पासपोर्ट पुर्‍याउने सेवा वैशाख २ गतेबाट सुरु हुने भएको छ । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरको व्यवस्थापनमा हुलाक सेवामार्फत उक्त सेवा सुरु गर्न लागिएको हो । 

Advertisement:

Ad
Ad

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार उक्त सेवाअन्तर्गत पहिलो चरणमा हेटौँडा क्षेत्रमा रहेका सेवाग्राहीलाई लक्षित गरी पासपोर्ट वितरण गरिनेछ । 

“हामीसँग हाल ५६० वटा पासपोर्ट उपलब्ध रहेको भएपनि जिल्लाभरि पुर्‍याउने विषयमा केही असहजता हुने देखिएकाले पहिलो चरणमा हेटौँडा क्षेत्रका सेवाग्राहीलाई सेवा दिने योजना छ ।”, उनले भने। सरकारको योजना अनुसार पासपोर्ट, राष्ट्रिय परिचयपत्र, सवारी अनुमति पत्रलगायत सेवा सुचारु गर्ने योजना रहेको उनले बताए । 

सरकारको योजना अनुसार सेवाग्राहीलाई लाइन बस्नुपर्ने झन्झट हटाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले हुलाक सेवामार्फत घरमै पासपोर्ट पुर्‍याउने व्यवस्था मिलाइएको उनले बताए। “यस सेवामा नेपाल हुलाक सेवाले ढुवानीको जिम्मेवारी लिनेछ भने प्रशासनले लागतलगायत आवश्यक प्रक्रिया पूरा गरी पासपोर्ट सम्बन्धित व्यक्तिसम्म पुर्‍याउनेछ ।” प्रजिअ अधिकारीले भने ।

जिल्ला हुलाक कार्यालय मकवानपुरका प्रमुख रमेश लामिछानेले एउटा पासपोर्टको तौल करिब ८० ग्राम हुने र वितरणका लागि प्रति पासपोर्ट करिब ८० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताए । साथै, सम्बन्धित व्यक्ति घरमा नभेटिएमा पासपोर्ट कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अझै स्पष्ट कार्यविधि तयार भइनसकेको हुँदा समस्या हुनसक्ने उनको भनाई छ । यस्तो अवस्थामा पासपोर्ट पुनः हेटौँडामै फिर्ता ल्याएर वितरण गर्ने विकल्पबारे प्रमुख जिल्ला अधिकारीसँग छलफल भएको उनले बताए। 

जिल्ला हुलाक कार्यालयमा हाल ४६ जना कर्मचारी कार्यरत रहे पनि सेवा विस्तारसँगै जनशक्ति पनि अभाव हुन सक्ने देखिएको छ । यसलाई ध्यानमा राख्दै प्रमुख जिल्ला अधिकारीले आवश्यक सहजीकरण गर्ने बताए ।

उनका अनुसार पहिलो चरणमा हेटौँडा क्षेत्रमै सेवा सुरु गरिनेछ र त्यसपछि क्रमशः अन्य स्थानीय तहमा विस्तार गरिने योजना रहेको छ ।