बादलको बोलीले एमालेभित्र चर्कियो विवाद,आज आकस्मिक सचिवालय बैठक बस्दै

२०८२ चैत २० गते

बादलको बोलीले एमालेभित्र चर्कियो विवाद,आज आकस्मिक सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले) भित्र संसदीय दलको नेता चयन र कार्यवाहक अध्यक्ष रामबहादुर थापाले संसद्मा दिएको पछिल्लो अभिव्यक्तिलाई लिएर आन्तरिक विवाद चर्किएको छ।

थापाले निर्वाचनमा पार्टीको पराजय हुनुमा सेना, कर्मचारी र विदेशी शक्तिको हात रहेको भनी दिएको अभिव्यक्ति पार्टीको आधिकारिक नीति विपरीत भएको भन्दै उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन्।

Advertisement:

Ad
Ad

यस विषयमा छलफल गर्न शुक्रबार दिउँसो १ बजे केन्द्रीय सचिवालयको बैठक डाकिएको छ, जहाँ यसलाई मुख्य एजेन्डा बनाइने बुझिएको छ।

उपमहासचिव योगेश भट्टराईले एमालेको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले जनमतलाई सम्मान गर्ने र शान्तिपूर्ण प्रतिस्पर्धामा विश्वास राख्ने उल्लेख गर्दै राज्यका अंगहरूप्रति पार्टीको कुनै बैरभाव नरहेको प्रष्ट पारेका छन्।

उनले नेपाली सेना, न्यायालय र कर्मचारीतन्त्रप्रति एमालेको सधैँ सम्मान र विश्वास रहने बताउँदै पराजयको दोष अरूलाई थोपर्नुको सट्टा कमजोरीको ठोस समीक्षा गरी जनविश्वास आर्जन गर्ने बाटोमा लाग्नुपर्नेमा जोड दिएका छन्।

संसदीय दलको नेता चयनको प्रक्रियामा पनि पार्टीभित्र दुई धार देखिएको छ। युवा सांसद सुहाङ नेम्वाङले दलको नेतामा दाबी गरे पनि नेतृत्व र पदाधिकारीको दबाबका कारण उनले उम्मेदवारी दर्ता गर्न नपाएको र रामबहादुर थापालाई नै सर्वसम्मत बनाइएको भन्दै युवा पुस्ताका नेता-कार्यकर्ता असन्तुष्ट बनेका छन्।

मुलुकमा युवा नेतृत्वको बहस चलिरहेका बेला एमालेले सुहाङलाई अवसर नदिएको टिप्पणी भइरहेको छ। यद्यपि, सुहाङ स्वयंले भने पार्टीको निर्णय स्वीकार गर्दै थापालाई बधाई दिएका छन्।

एमाले सांसद ऐनबहादुर महरका अनुसार दलको बैठकमा निर्वाचनको प्रक्रिया अघि बढे पनि अन्तिम समयमा सुहाङले उम्मेदवारी नदिएपछि परिस्थिति सर्वसम्मतितर्फ मोडिएको थियो।

११औँ महाधिवेशनपछि अपेक्षा अनुसारको मत नआएको र अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वाग्रहपूर्वक हिरासतमा लिइएको जस्ता घटनाक्रमले पार्टीभित्र पहिलेदेखि नै बहस भइरहेको थियो।

पछिल्लो समय संसदीय दलको नेतृत्व र संसद्को अभिव्यक्तिले एमालेभित्र सुधारको अभियान चलाउनुपर्ने माग गर्ने पक्षलाई थप बल पुर्‍याएको देखिन्छ।