बेलायतको नागरिकता त्यागेर गाउँ फर्की लोभलाग्दो बाख्रापालनमा लागेका राई

२०८२ असोज १४ गते

बेलायतको नागरिकता त्यागेर गाउँ फर्की लोभलाग्दो बाख्रापालनमा लागेका राई

भोजपुर। यहाँका टेम्केमैयुङ गाउँपालिका–२, सिरदलीका सूर्यप्रसाद राई ३० वर्ष ब्रिटिस सेनामा सेवा गरेर अवकाशपछि आफ्नै गाउँ फर्किएर बाख्रापालन व्यवसायमा लाग्नु भएको छ । आफूले कमाएको रकम र सीपलाई सदुपयोग गर्दै व्यावसायिक बाख्रापालनमा जुटेका उनी अहिले समाजमा उदाहरणीयसमेत बनेका छन् ।

आफूलाई विदेशमा बस्ने सुविधा हुँदाहुँदै पनि नेपालको मायाले यहाँ फर्केर बाख्रापालन व्यवसायमा लागको उनले बताए। समाजलाई केही सेवा गर्ने लक्ष्यले विसं २०७५ बाट व्यावसायिक रुपमा बाख्रापालन गरिरहेको उनले बताए।“करिव ३० वर्ष ब्रिटिस सेनामा जागिर खाएँ”उनले भने,“मलाई त्यही बस्ने पनि सुविधा थियो । तर म गाउँमा फर्केर समाजको लागि उदाहरणीय बन्ने सोचले व्यावसायिक कृषि पेसामा लागेको हुँ ।”उनले अम्बा कृषि बाख्रापालन फर्म दर्ता गरेर व्यावसायिक रुपमा यो पेसामा लागेका हुन् । करिव बाह्र रोपनी बढी क्षेत्रफल रहेको फर्ममा अहिले, वोयर, स्थानीय खरीजात लगायतका बाख्रा रहेका छन् । व्रिटिस सरकारले त्यहाँ बस्नको लागि दिएको नागरिकता त्यागेर यो व्यवसायमा जोडिएको उनको भनाइ छ ।

Advertisement:

Ad
Ad

उनले आफ्नै बारीमा सुन्तला, कागती, रुद्राक्षको पनि खेती गरिरहेको बताए। आफूलाई पेन्सनको रुपमा आएको पैसाले राम्रोसँग जीविकोपार्जन गर्न पुग्ने भएपनि समाजका मानिसहरुलाई केहि ज्ञान दिने लक्ष्यले व्यवसायमा लागेको उनको भनाइ छ । व्रिटिस सेनाको जागिर पश्चात उनले गाउँमा गरिरहेको बाख्रापालन व्यवसाय समाजको लागि अनुरकरणीयसँगै उदाहरणीय रहेको टेम्केमैयुङ–३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । व्यावसायिक रुपमा बाख्रापालन तथा अन्य कृषि व्यवसायमा लागेका किसानहरुलाई स्थानीय सरकारकाले पनि आवश्यक प्रोत्साहन गरिरहेको वडाध्यक्ष राईले बताए । व्यवसायमा लागेको किसानलाई थप उर्जा थप्न उन्नत जातको बोका वितरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ ।