सडक बोर्ड नेपालको कार्यकारी निर्देशक पदमा जागिर खुला,यसरी दिन सकिन्छ आवेदन

२०८३ असोज १९ गते

सडक बोर्ड नेपालको कार्यकारी निर्देशक पदमा जागिर खुला,यसरी दिन सकिन्छ आवेदन

काठमाडौँ ।  सडक बोर्ड नेपालले कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । बोर्डले कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट नियुक्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

सडक बोर्ड ऐन, २०५८ को दफा २१ बमोजिम कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको बोर्डले जनाएको छ । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको दस्तुरसहित आवेदन पेस गर्नुपर्नेछ । आवेदन बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनसम्म दरखास्त पेस गर्न सकिने व्यवस्था गरिएको छ ।

Advertisement:

Ad

कार्यकारी निर्देशक पदका लागि सम्बन्धित इन्जिनियरिङ वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेको तथा इन्जिनियरिङ वा सडक व्यवस्थापनसँग सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको हुनुपर्ने न्यूनतम योग्यता तोकिएको छ ।

दरखास्तसँगै व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र कार्य अनुभवसम्बन्धी प्रमाणित कागजात पेस गर्नुपर्नेछ। त्यस्तै सडक बोर्ड ऐन, २०५८ तथा सडक बोर्ड नेपालको कार्यकारी निर्देशकको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य सर्तसम्बन्धी नियमावली, २०६५ को उद्देश्य बमोजिम कार्यसम्पादन गर्न सक्ने योग्यता, कार्यक्षमता तथा कार्ययोजना प्रस्तुत गर्नुपर्ने व्यवस्था सूचनामा उल्लेख छ।

उम्मेदवारले कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि आफू योग्य रहेको पुष्टि हुने अन्य आवश्यक प्रमाण तथा कागजातसमेत पेस गर्नुपर्नेछ। सरकारी निकायमा कार्यरत उम्मेदवारले सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिनुपर्ने र नेपाल इन्जिनियरिङ परिषद्को प्रमाणपत्र पनि पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

उम्मेदवारको हकमा नेपाली नागरिक हुनुपर्ने, पैंतीस वर्ष पूरा गरेको र साठी वर्ष उमेर ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ। साथै प्रचलित कानुनबमोजिम अयोग्य ठहरिने अवस्था नभएको हुनुपर्नेछ। उम्मेदवारले आफूले कुनै फौजदारी कसुरमा सजाय नपाएको तथा नैतिक पतन देखिने फौजदारी अभियोगमा दोषी ठहर नभएको सम्बन्धमा आवश्यक विवरणसमेत पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

कार्यकारी निर्देशकको पदावधि चार वर्ष रहनेछ। नियुक्ति तथा सेवासुविधासम्बन्धी अन्य व्यवस्था सडक बोर्ड ऐन, २०५८ तथा सडक बोर्ड नेपालको कार्यकारी निर्देशकको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य सर्तसम्बन्धी नियमावली, २०६५ बमोजिम हुने बोर्डले जनाएको छ ।

दरखास्त फाराम सडक बोर्ड नेपालको कार्यालय, मिनभवन, काठमाडौंमा बुझाउनुपर्नेछ। दरखास्त फाराम तथा यससम्बन्धी विस्तृत जानकारी सडक बोर्ड नेपालको वेबसाइट www.rbn.org.npबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।