२०८१ असोज ०६ गते
काठमाडौँ । नेपाल डेरी एसोसिएसनले आयोजना गरेको साताव्यापी विश्व स्कुल दुध दिवस मनाउने क्रममा बुढानिलकण्ठ -८, मण्डिखाटार, काठमाडौँमा अवस्थित दिब्य सेवा निकेतन जेष्ठ नागरिक आश्रममा रहेका १७ जना जेष्ठ नागरिकहरुलाई दुध तथा दुग्ध पदार्थ वितरण गरेको छ । कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्लाद दाहाल, उपाध्यक्ष दीप प्रसाद धमला, बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, एसोसिएसन काठमाडौं जिल्ला सदस्य चेतनाथ दाहाल (केदार ), मनोज दाहाल लगायत डेरी उद्योगीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमलाले दुध सबैले पिउनुपर्ने पौष्टिक तत्वले भरिपूर्ण भएको हुनाले बिहान बेलुका सबै जनाले दुध पिउनु पर्ने कुरा बताए । त्यस्तै नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले दूध पूर्ण पौष्टिक आहार भएको कुरा बताउँदै सबै जेष्ठ नागरिकहरूलाई अनिवार्य दूध तथा दुग्ध पदार्थ सेवन गराउन सक्दा निरोगी बन्न सहयोग पुग्ने, दुध बालकदेखि वृद्धसम्म नभई नहुने यसको महत्त्व धेरै नै भएको कुरा बताए । एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्लाद दाहालले दूधबाट बनेका परिकारहरू, दूधको स्रोत, बजारीकरण, उत्पादन, प्रशोधनदेखि उपभोक्तासम्म पुग्ने क्रममा गोठदेखि ओठसम्मको तरिका बताउँदै साताव्यापी विद्यालय दुध दिवस मनाउँनुको महत्व बताए ।
विश्वमा कुनै पनि बालबालिकाहरुले दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर विश्वभर स्कुल दुध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन सन् २००० देखि निरन्तर आज २४ वर्षसम्म मनाउने गरेको तथ्यांक छ । यस वर्ष विश्वमा २४औं र नेपालमा १०औं विश्व स्कुल दुध दिवस नियमित दुध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवनू भन्ने नारा सहित भव्यताका साथ साता ब्यापि रुपमा असोज ३ गतेबाट मनाउने र असोज ९ गते सेप्टेम्बर महिनाको अन्तिम बुधबार मुल समारोहको आयोजना गर्ने गरि नेपाल डेरी एसोसिएसनले साताव्यापी रुपमा मनाउने कार्यक्रम रहेको छ।एसोसिएसनले सरोकारवाला सबै र आफ्ना मातहतका पालिका, जिल्ला र प्रदेशलाई १० औं विश्व स्कुल दिवस मनाउन अनुरोध गरिसकेको छ ।
तथ्यांक अनुसार नेपालमा प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दुध सेवन गर्नुपर्नेमा हाल ८५ लिटर मात्र सेवन हुने गरेकोले अब आगामी दिनहरुमा कम्तिमा बालबालिकाहरुको लागि मात्र भए पनि ९२ लिटर अनिवार्य पुरयाउनु पर्ने देखिएकोले सरोकारवालाहरु यसमा लाग्नु पर्ने देखिएको एसोसिएसनले औँल्याएको छ । साथै विद्यालय र सरोकारवाला निकायले पनि दुध सेवनमा प्राथमिकता दिन अभिभावकहरुलाई दुधको जानकारी सहित आग्रह गर्नुपर्ने एसोसिएसनको भनाई छ । एसोसिएसनले समय समयमा स्कुल, आश्रम, अस्पताल लगायत विभिन्न स्थानमा दुध तथा दुग्ध पदार्थ सेवन गराउने र विविध कार्यक्रमहरु गर्ने गरेको छ । समय समयमा कविता र बक्तृत्वकला प्रतियोगिता गरि बालबालिकामा दुध तथा दुग्ध पदार्थको जानकारी गराउने गरिएको छ । यसले दुग्ध क्षेत्रको विकासका लागि ठूलो महत्वपूर्ण भुमिका खेलेको देखिन्छ ।
प्रतिक्रिया