२०८२ वैशाख ०४ गते
काठमाडौ । सरकारले सार्वजनिक ऋणको आकार घटाएको छ । ऋणको आकार ८ अर्ब ७७ करोड रुपैयाँले घटेको हो । फागुन मसान्तसम्ममा २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ रहेको मुलुकको सार्वजनिक ऋण चैतमसान्तसम्म करिब ९ अर्बले घटेर २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदनले चालु आर्थिक वर्षको शुरुमा २४ खर्ब ३४ अर्ब सार्वजनिक ऋण रहेकोमा ९ महिनामा २ खर्ब ३३ अर्ब १७ करोड रुपैयाँ थप भएको २६ खर्ब ६७ अर्ब पुगेको हो यद्यपि फागुनको तुलनामा भने चैतमा सार्वजनिक ऋणमा केही कमी आएको छ ।
सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ र बाह्य ऋण १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ छ । कुल सार्वजनिक ऋणमा चैत मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१.१९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४८.८१ प्रतिशत रहेको छ । नेपालको अर्थतन्त्रको आकारको अनुपातमा सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६.७५ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया