सफलताको स्वाद मात्र चाखेका राजेन्द्र मल्ल व्यवसायिक जिवनमा पहिलोपटक दुःखित हुँदाको त्यो क्षण

२०८१ माघ २७ गते

सफलताको स्वाद मात्र चाखेका राजेन्द्र मल्ल व्यवसायिक जिवनमा पहिलोपटक दुःखित हुँदाको त्यो क्षण

काठमाडौँ । व्यापारिक पृष्ठभुमिमा हुर्केको एउटा व्यक्ति जो सामानसँग पैसा साटेको दृश्यमा अभ्यस्त हुन्छ र त्यही दृश्य उसको भविष्यको सपना बन्छ । त्यही दृश्य मानसपटलमा गहिरो छाप बनेर बस्छ कहिले नमेटिने गरी । आफ्ना बुवाले एक हातले सामान दिने र अर्को हातले पैसा लिएको देखेर आफू पनि भविष्यमा व्यापारी नै बन्छु भन्ने सपनाको जग ती व्यक्तिको बाल्यकालमै बसिसकेको हुन्छ ।

बुबाको हातभरि पैसा देखेका ती बालकलाई लाग्छ आखिर पैसा कमाउने भनेको त त्यही व्यापारबाट नै पो रहेछ । त्यही व्यापारिक माहोलमै हुर्केका ती बालक युवक बन्छन् र पैसा कमाउने पेशामा अर्थात व्यापारमा होमिन्छन् । यो कुनै फिल्मी कथाको समिक्षा होइन । यो त व्यापारी तथा व्यवसायी राजेन्द्र मल्लको वास्तविक जिवनको एक किस्सा हो । १६ वर्षे उमेरमै व्यवसायी बन्न निस्किएका व्यवसायी राजेन्द्र मल्लको विगत हो यो । बुबाको व्यापारबाट प्रभावित मल्लले ४० वर्षमा नामसँगै दाम मात्र होइन व्यवसायिक साम्राज्य नै खडा गरे । यसैले त उनी निजी क्षेत्रको सबैभन्दा पुरानो संस्था नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष समेत भए । अहिले हेलिकप्टर,बीमा, जलविद्युत, कलेज, टेलरिङ, होटल, अटो लगायतका क्षेत्रमा उनको लगानी रहेको छ । उनको व्यावसायिक यात्रा अझै विस्तारित हुदैछ ।

Advertisement:

Ad
Ad

काठमाडौँको साँखुमा जन्मेका मल्ललाई २०३९ सालमा एसएलसी दिए लगत्तै त्यत्तिकै बस्न मन लागेन । उनले बुवासँग पैसा सापटी मागे अनी क्षेत्रपाटीको ढल्कोमा गएर किराना पसल खोले । पसलबाट धेरैथोर कमाई भइरहेको थियो । अहिलेजस्तो जहिँतही पसल थिएन । शुरुमा पसल राम्रै चले पनि बिस्तारै नगद भन्दा बढी उधारोमा समानहरु जान थाल्यो । यसले उनको व्यापारिक सपनामा प्रहार भयो । उधारोमात्र लाने पैसा कसैले नतिर्ने भएपछि उनको ब्यापार शुक्न थाल्यो । उनका बुवाले त्यो व्यापार ठिक नभएको भन्दै बन्द गरेर अध्ययनमा लाग्न सुझाए । व्यवसायमै जम्ने सोच बनाएका मल्ल आफै पनि पसल बन्द गरेर ठमेलमा रहेको सरस्वती बहुमुखी क्याम्पसमा आइकममा भर्ना भए ।

उतिबेला धेरै पढ्नु पर्छ भन्ने थिएन । सामान्य लेखपढ गरेपनि पुग्ने थियो तर राजेन्द्रका बुवा आफैं ज्ञानको दायरा फराकिलो बनाउनु पर्छ भन्ने मान्यताका थिए । उनका बुवा व्यापारसँगै फुर्सदमा छोराहरुका अगाडि बसेर संस्कृतका श्लोकहरु, भागवत गीता बाचन गरेर सुनाउँथे । जुन प्रवचन मल्लको लागि अध्ययन अगाडी बढाउने मार्गदर्शक बन्यो । यद्यपि, क्याम्पस छिरेपनि व्यवसायिक हुटहुटीले उनलाई छोडेन । व्यवसायी बन्ने सपनाबाट उनि कतिपनि बिचलीत थिएनन् त्यसैले त राजेन्द्र ठमेलका पसलहरु हेर्दै नयाँ नयाँ व्यवसायिक योजनाहरु बुनिरहन्थे ।

यसैबीच २०४२ सालमा आइकम पास गर्ने बित्तिकै १९ वर्षे राजेन्द्रले एउटा ज्वाइन्ट भेन्चर ट्रेडिङ कम्पनी स्थापना गरे । उक्त कम्पनी मार्फत उनले सरकारी अफिसमा आवश्यक ठूलठूला विद्युतीय उपकरणहरु टेन्डरबाट सप्लाई गर्ने काम गरे । व्यवसायिक रफ्तार बढ्न थाल्यो उनी थप हौसिए । उनको पहुँच पनि बढ्न थाल्यो । युनिसेफ, यूएनडीपी, सेभ द चिल्ड्रेन लगायतका विदेशी मिसनेरी कार्यालयहरु र ठूलठूला तारे होटलमा फोटोकपी, प्रिन्टिङ मेशिन लगायतका मालसामानहरु बिक्री गर्न थाले ।

उनी उतिखेरै ग्लोबल टेण्डरमा सहभागी भएर काम गर्थे । यो शिलशिला ३ वर्षसम्म चलिरह्यो । टेण्डरका काम गरिरहँदा हातभरी पैसा पर्ने फेरी टेण्डर नपर्दासम्म पैसा कुरेर बसिरहन पर्ने भएपछि उनले २०४५ सालमा कमलादीमा एसियाटिक इन्टरनेशनल ट्रेडिङ प्रा.ली.नामक कम्पनी खोले । कम्पनी मार्फत सिंगापुर, जापान, हङकङबाट अटो पार्टस्हरु आयात गरेर बेच्ने काम गरे । जोखिम मोल्न नडराउने हक्की स्वभावका राजेन्द्र अनेक सोचमा हुन्थे । रिकन्डिसन गाडीहरु पनि एकै साथ बेच्ने काम गरे त्यसले उनलाई अटो क्षेत्रमा पनि स्थापित गर्यो ।

त्यसपछि साकार हुँदै गयो उनको व्यापारिक सपना ....

स्कुले जिवनमा शुरु गरेको किराना पसलबाट खासै आम्दानी नभएपनि ग्लोबल टेण्डरको कारोबार शुरु गरेपछि राजेन्द्रको व्यापारिक सपनाले बल्ल साकार हुन थाल्यो । हातमा लाखौँ लाखको कमाई हुन थाल्यो । सँगैका साथीभाई हजार पनि मुश्किलले कमाउने हुँदा उनी लाखौँ खेलाउने भइसकेका थिए । बुवा आमा कान्छो सन्तानको प्रगतिको रफ्तारमा नतमस्तक थिए । बुवाले दिएको संस्कारले होला उनी आफ्नो परिश्रम र मेहनतले कमाइको एक अंश धार्मिक तथा सामाजिक कामका लागि छुट्याउने गर्दथे । त्यो अहिले पनि कायमै छ । उनी हरेक कमाइको १ देखि २ प्रतिशत मठमन्दिरमा खानपान चन्दा तथा भौतिक सहयोगका लागि भनेर थैलोमै पोको पारेर राख्ने गर्दछन् ।

त्यसो त मल्लका पालामा सरकारी जागिरका लागि कुनै दुःख गर्नुपर्दैनथ्यो उतिबेला पढे लेखाहरु धेरै थिएनन् । तर राजेन्द्रको जागिरतिर पटक्कै मन लागेन । बुवाले भन्ने गर्थे,जागिर खाएर के गर्नु श्रीमती समेत पाल्न सकिँदैन । व्यापार गरे हात्ती पनि पाल्न सकिन्छ’ । बुवाको त्यही वाक्यले राजेन्द्रले जागिर खान प्रयास नै गरेनन् बरु व्यवसायतिरै आकर्षित भए ।

पहिलो पटकको आफ्नो विदेश भ्रमण नै राजेन्द्र मल्ल आफ्नो व्यवसायिक जिवनको टर्निङ पोइन्ट मान्दछन् । त्यसयता उनले कहिल्यै पछाडी फर्केर हेर्नुपरेको छैन । २०३९ सालमा पहिलोपटक उनी व्यवसायको शिलसिलामा बैंकक पुगेका थिए । राजेन्द्रको त्यहीँबाट विदेशी ठूला कम्पनीहरुसँग सम्बन्ध बिस्तार भयो । आयातमा मात्र सिमित उनको व्यापारको दायरा फराकिलो बन्दा निर्यातको ढोका पनि खुल्न थाल्यो । त्यसपछि आयातकर्ताका रुपमा पनि स्थापित हुन थाले । त्यसबेला नेपालमा नेचुरल शिल्क उत्पादन हुन्थ्यो शिल्क निर्यात गर्न थाले ।

उनले प्रख्यात चिनियाँ इलेक्ट्रोनिक्स् ब्राण्ड टीसीएलको नेपालमा डीलरशीप पाए । अहिले उनी विभिन्न क्षेत्रमा लगानी गरेर काम गरिरहेका छन् । कृषि पेशालाई आत्मनिर्भर बनाउन उनले बायो केमिकल फर्टिलाइजर उत्पादनको काम अघि बढाएका छन् । नेपालमै अन्नका हाइब्रिड बीउ निर्माण गर्न इजरायलसँग सहकार्य गरेर अनुसन्धान अघि बढाएका छन् । उनी अहिले कृषि स्वावलम्बन प्रालिको प्रबन्धक भई नगरकोट र शंखरापुरमा व्यवसायिक कृषिलाई निरन्तरता दिइरहेका छन् ।

१२ वर्षसम्म साथमा रहेको टीसीएल ब्राण्ड हातबाट खोसिँदा जिवनमै पहिलोपटक दुःखीत

राजेन्द्र मल्लको व्यवसायिक यात्राका क्रममा उति ठूलो अवरोध र अप्ठ्याराहरु आइनपरे पनि आफ्नो हातबाट चिनियाँ इलेक्ट्रोनिक्स् ब्राण्ड टीसीएल खोसिँदाको क्षण भने पीडादायी भएको बताउँछन् ।

किनकि उक्त कम्पनीको विद्युतीय सामान उनैले नेपालमा भित्र्याएर स्थापित गरेका थिए । नेपालमा चिनियाँ पक्षले धेरै भन्दा धेरै बिक्री गर्न दबाव दिइरहन्थे र बिक्री लक्ष्य हाँसिल गर्न नसकेको भन्दै उनको हातको डीलरशीप अरु कसैलाई दिइयो । जसले गर्दा उनले ठूलो नोक्शानी पनि व्यहोर्नुपर्यो । धेरैले उनीसँग उधारोमा सामान लगेका थिए जुन पछिसम्म पनि उठाउन सकेनन् । धन्न उनले लगानी विविधिकरण गरेकाले धेरै डुब्न पाएन ।

‘आयात उधारोमा होइन नगदमै हुने कानुन बनाउनपर्छ’

कुनै बेला विदेशबाट मालबस्तु आयात गरेर व्यवसायिक फड्को मारेका राजेन्द्र अहिले आफूले विदेशबाट सामान आयात गरेर बिक्री गर्न बन्द नै गरेको बताउँछन् । नेपालमा धेरै मालसामानहरु उधारोमा जाने र नगद कारोबार नहुने हुँदा व्यापारीहरुलाई रोटेशन मिलाउनै सकस हुने उनको अनुभव छ । र यसका लागि कानुनमै सुधार गर्नुपर्नेमा जोड दिँदै उनी भन्छन्,‘यसबारे मैले चेम्बर अध्यक्ष हुँदा पनि पटकपटक उधारो कारोबार नपाउने कानुन बनाउन सुझाव दिएको हुँ ।’ उनको तर्क छ ‘उधारोमा दिए २० प्रतिशत नाफा लिए पनि कोहीले तिर्ने कोहीले नतिर्ने हुन्छ । नगद कारोबार भए २ प्रतिशत मात्र नाफा लिए पनि १२ पटक रोटेशन हुन्छ । यसले व्यापारी पनि नडुब्ने ग्राहकलाई पनि सस्तो पर्न जाने हुन्छ ।’

सफलताको शुत्र

लामो समयदेखि सफलताको स्वाद चाखेका राजेन्द्रले कोभीडको समयमा भने कहिल्यै नसोचेको घाटा व्यहोर्न पुगे । प्रायः सबै क्षेत्रबाट नोक्शानी व्यहोरेका उनले बीमामा गरेको लगानीबाट भने राम्रो लाभ कमाउन सके । त्यसले अन्य व्यवसायको नोक्शानी पूर्ती गर्यो । त्यसैले उनी युवा पुस्तालाई पब्लिक प्राइभेट पार्टनरशीपमा काम गर्न सुझाव दिन्छन् । सबै जनाको साझेदारीमा संस्थागत हिसावले व्यवसाय गर्दा नोक्शानी पनि सबैतिर बाँडिने र फाइदा हुने हुँदा सर्वपक्षीय हितमा रहेकोे बताउँछन् । त्यसैगरी उनी लगानी छरेर गर्न अर्थात पोर्टफोलियो म्यानेज गरेर लगानी गर्न सुझाव दिन्छन् । आफ्नो क्षमता अनुरुप ऋणको धेरै बोझ नलिई काम गर्दा ब्याजको भार धेरै नपर्ने, कर्जा माग्न बैंकको ढोका ढकढक्याउन नपर्ने सुझाव दिन्छन् ।