साना तथा मझौला उद्योगी राज्यको उपेक्षामा छन् : उद्यमी खड्का

२०८१ पुस १५ गते

साना तथा मझौला उद्योगी राज्यको उपेक्षामा छन् : उद्यमी खड्का

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघकी महिला उपाध्यक्ष लक्ष्मी खड्काले राज्यले साना व्यवसायमैत्री नीति नलिँदा व्यवसायीहरु अप्ठ्यारो अवस्थामा पुगेको बताएकी छिन् ।

नेपालका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आवद्ध व्यवसायीहरु यतिखेर चर्को घरभाडा र भन्सारका कारण समस्यामा परेको खड्का बताउँछिन् । उनी भन्छिन्, 'राष्ट्रिय व्यवसायी महासंघमा ८० प्रतिशत खुद्रा, साना तथा मझौला उद्यमीहरु छन् । आर्थिक मन्दीका कारण व्यापारी तथा उद्यमीहरुलाई अहिले व्यापार व्यवसाय गर्न अत्यन्त अप्ठेरो छ, धेरै जना व्यापारीको नाम कालोसूचिमा आइरहेको छ । यसले कतिपय व्यवसायीहरु हतोत्साही भएका छन् । धेरै वेथितीहरु बढेको छ,भन्सारमा त्यत्तिकै समस्या छ ।'

Advertisement:

Ad
Ad

विगतमा पनि महासंघ सडक आन्दोलनमार्फत वैज्ञानिक भाडादर लागू गराउन र बैंक व्याजदर घटाउन माग गर्दै साना व्यवसायीको पक्षमा उभिएको स्मरण गर्दै खड्का भन्छिन्, 'राज्यमा बस्नेहरुले समाभान गर्न नसकेको कतिपय साना व्यवसायीका माग हामीले सरकारलाई दबाव दिएर पुरा गर्यौँ, अझ कतिपय मागहरु पुरा हुनै बाँकी छ । राज्यबाट साना तथा मझौला व्यवसायीहरु उपेक्षामा परेका छन् । उनी अगाडी थप्छिन्, ठूला व्यवसायी जो पाँचतारे होटलमा कार्यक्रम आयोजना गर्न सक्छन् उनीहरुको कुरा राज्यले चाँडो सुन्छ । साना व्यवसायीका मागबारे चासो दिँदैन ।'

नेपाल राष्ट्रिय व्यवसायी महासंघमा हाल २२ वटा संघहरु आवद्ध छ । पुष २० गते महासंघले साधारण सभा मार्फत ९० सदस्यीय पदाधिकारीहरु सहमतीय प्रणालीमा चयन गर्दैछ ।