सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

२०८३ जेठ १४ गते

सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा ग्याबु शेर्पाले नौं दिनमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर संघीय संसद सचिवालयको झण्डा फहराउँदै काठमाडौं फर्किएका छन्।

 

Advertisement:

Ad
Ad

बुधबार बिहान ५ः४० बजे उनले प्रतिनिधिसभाको झण्डासहित सगरमाथाको सफल आरोहण गरेका हुन् । यो उनको १०औँ सफल सगरमाथा आरोहण हो।सामाजिक सञ्जालमार्फत उनले ‘सदनदेखि शिखरसम्म’ अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन् ।


उनले लेखेका छन्, ‘सदनदेखि शिखरसम्मको यात्रा ९औँ दिनमा बिहान ०५ः४० बजे सगरमाथा शिखरमा पुगेर सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदछु। यहाँसम्मको यात्रामा सहयोग, शुभकामना र हौसला प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद।’

 

सगरमाथा आरोहणपछि उनले मौसम प्रतिकूलताका कारण योजना अनुसार सातौँ दिनमै शिखर पुग्न नसकेको बताए । ‘मेरो योजना सातौँ दिनमै सगरमाथा आरोहण गर्ने थियो । तर मौसमका कारण आठौँ दिनमा क्याम्प–४ बाट करिब ८ हजार ४ सयदेखि ८ हजार ५ सय मिटरसम्म पुगेपछि अत्यधिक हावाहुरीका कारण फर्किनुपर्याे,’ उनले भने।

उनले दोस्रो प्रयासमा नवौँ दिनमा सफल आरोहण गरेको उल्लेख गर्दै यसपटकको अनुभव आफ्ना लागि विशेष रहेको बताए । ‘काठमाडौं छाडेको पाँचौँ दिनमै म ७ हजार १ सय मिटरसम्म पुगेको थिएँ । यति छिटो सगरमाथा आरोहण गर्ने हिम्मत मैंले यसअघि गरेको थिइनँ,’ उनले भने।


सांसद शेर्पाले संसदमा हिमाल, पर्यटन र पर्वतारोहण क्षेत्रका नीतिगत विषयमा काम गर्ने जिम्मेवारी भएकाले अभियानलाई छोटो समयमा सम्पन्न गर्ने लक्ष्य राखेको पनि बताए ।

 

उनले यही जेठ ५ गते काठमाडौंबाट सगरमाथा बेसक्याम्प पुगेर अभियान सुरु गरेका थिए। त्यसअघि प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको झण्डा हस्तान्तरण गर्दै उनलाई बिदाइ गरेका थिए।