राष्ट्रपतिमा ट्रम्प आएपछि बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च, एक लाख डलरसम्म पुग्ने आँकलन

२०८१ कात्तिक २६ गते

राष्ट्रपतिमा ट्रम्प आएपछि बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च, एक लाख डलरसम्म पुग्ने आँकलन

वाशिंगटन डिसी। गत हप्ता अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पको निर्णायक विजयपछि बिटक्वाइनको मूल्य पहिलो पटक ८०,००० डलरभन्दा माथि पुगेको छ। राष्ट्रपति पद र सिनेटमा बहुमत प्राप्त गरिसकेपछि रिपब्लिकनहरू कंग्रेसको समग्र नियन्त्रणको नजिक पुग्दा यस्तो भएको देखिन्छ ।

Advertisement:

Ad
Ad

चुनावी अभियानको क्रममा निर्वाचित राष्ट्रपति ट्रंपले अमेरिकालाई क्रिप्टो राजधानी बनाउने वाचा गरेका थिए । संसारको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य यो वर्ष ८० प्रतिशतभन्दा बढी बढेको छ।  डोगीकोइन सहित अन्य क्रिप्टोकरेन्सीहरुको मूल्य पनि निरन्तर बढिरहेको देखिन्छ ।

चुनावको दौडमा ट्रम्पले रणनीतिक बिटकोइन स्टकपाइल सिर्जना गर्ने र डिजिटल सम्पत्ति अनुकूल वित्तीय नियामकहरू नियुक्त गर्ने बताएका थिए। उनले क्रिप्टो सम्बन्धि नियमहरु उदार बनाउने अपेक्षा जानकारहरु राख्छन् ।

ट्रम्पले राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्य भनेको सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) का वर्तमान अध्यक्ष ग्यारी जेन्सलरलाई बर्खास्त गर्ने बताएका छन् ।  जो वाइडेन नेतृत्वको सरकारले नियुक्त गरेको जेन्सलरले क्रिप्टो उद्योग सम्वन्धि कडा नियम अनि अनुदार नीति अवलम्बन गरेका थिए ।

बजार विश्लेषकको अनुसार यदि ट्रंपले भने अनुरुप क्रिप्टो करेंसीको क्षेत्रमा उदारवादी नीति ल्याएमा बिटक्वाइनको मूल्य एक लाख डलरसम्म पुग्नेछ।