२०८१ असार १६ गते
काठमाडौं। नेकपा एकीकृत समाजवादीको आइतबार प्रज्ञा भवनमा सुरु दशौँ राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन् ।
प्रज्ञा भवनमा उद्घाटन समारोह चलिरहँदा अन्य सबै दलका नेता सहभागी भएका छन् । तर, हालको सत्ता साझेदार समाजवादीको महाधिवेशनमा ओली अतिथिका रुपमा सहभागी नभएका हुन् ।
महाधिवेशनको विशिष्ट अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन् । महासचिव घनश्याम भुसालका अनुसार महाधिवेशनमा सबै दलका नेताहरूलाई निम्तो गएको थियो ।
महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जसपा अध्यक्ष अशोक राई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव लगायत सहभागी छन् । महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) पनि सहभागी छन् ।
एकीकृत समाजवादी तत्कालीन अवस्थामा २०७८ भदौ ९ मा एमालेबाटै फुटेर बनेको हो । त्यसबेला एमाले विभाजन गराउन शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले राजनीतिक दलसम्बन्धी कानुननमा दल विभाजनसम्बन्धी नियम खुकुलो बनाइदिएको थियो ।
पार्टी विभाजनपछिको तिक्तता तोड्दै २०८० फागुन २१ गते प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनमा जोडिएका एमाले अध्यक्ष ओली र समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच अझै सम्बन्ध नसुध्रिएको हो ।
प्रतिक्रिया