२०८० चैत ०४ गते
कोलम्बो । सन् २०२३ को चौथो त्रैमासिकमा पर्यटन आगमनमा वृद्धि भएसँगै अकल्पनीय वित्तीय संकटको सामना गरेको श्रीलंकामा आर्थिक पुनरुत्थान भएको श्रीलंका सरकारले जनाएको छ । यो सँगै सन् २०२२ मा ७.८ प्रतिशतले संकुचन भएको देशको अर्थतन्त्रमा सुधार भएर सन् २०२३ मा समग्रमा अर्थतन्त्र २.४ प्रतिशतले मात्र खुम्चिएको छ ।
२०२३ को अन्त्यसम्ममा देशको कृषि, उद्योग र सेवा क्षेत्रको विस्तार दर ४।५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषि, उद्योग र सेवा क्षेत्रको विस्तार दरमा भने १२.४ प्रतिशतले संकुचन आएको थियो ।“सन् २०२३ मा श्रीलंकाको अर्थतन्त्रले द्वैतताको अनुभव गरेको छ”, सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस वर्षको पहिलो छ महिनामा ऋणात्मक वृद्धि भएको छ भने दोस्रो त्रैमासिकमा अर्थतन्त्रमा सुधार आएको छ ।“पर्यटनमा लामो समयदेखि प्रतिक्षा गरिएको सुधारको सन् २०२३ को अन्त्यतिर आएको छ” सरकारले भनेको छ, “कामदारको रेमिटेन्समा पनि सुधार आएको छ ।”
गत डिसेम्बरमा श्रीलंका घुम्न आउने पर्यटकको संख्या दुई लाख १० हजार पुगेको छ । यो संख्या अघिल्लो वर्षको ९१ हजार ९०० को तुलनामा दोब्बरभन्दा बढी हो ।श्रीलंकाले हाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आर्एएमएफ) बाट चार वर्षका लागि २.९ अर्ब अमेरिकी डलरको जमानत कर्जा लिइरहेको छ र ऋण पुनर्संरचनाको लागि विदेशी ऋणदाताहरुसँग छलफल गरिरहेको छ ।
सन् २०२२ मा आर्थिक संकटको शिखरमा पुगेको मुलुकमा आयातका लागि भुक्तानी गर्न विदेशी मुद्रा सञ्चिति सकिएपछि महिनौंसम्म खाद्यान्न, इन्धन र औषधिको अभाव भएको थियो । राष्ट्रव्यापी नागरिक आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले सन् २०२२ को जुलाईमा तत्कालीन राष्ट्रपति गोतबाया राजापाक्षको सरकारी निवासमा आक्रमण गरेपछि उनले पदबाट राजिनामा दिन बाध्य भएका थिए ।
उनको उत्तराधिकारी रनिल विक्रमासिंघेले आर्थिक संकटबाट देशलाई माथि उकास्न करको दायरालाई दोब्बर पार्दै उदार ऊर्जा अनुदान फिर्ता लिएका थिए भने मुलुकको आर्थिक आवश्यकतालाई ध्यानमा राख्दै राजस्व संकलन वृद्धिका लागि वस्तुहरुको मूल्य वृद्धि गरेका थिए । एजेन्सीको सहयोगमा
प्रतिक्रिया