२०८२ वैशाख ३० गते
काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य गौरीटाप प्रवद्र्धन गर्न ‘स्पार्क कार’ले ‘स्पार्क एड्भेञ्चर’को आयोजना गरेको छ ।
काठमाडौंबाट विद्युतीय सवारी साधनको प्रयोग गर्दै कलाकार, उद्यमी, पर्यटनकर्मी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा सक्रिय करिब २०० जनाले शुक्रबार र शनिबार गौरीटाप र ओखलढुङ्गाको रुम्जाटारमा बिताए । उक्त क्षेत्रको प्रवद्र्धनमा उनीहरुले सक्रियता जनाएका हुन् ।
प्रचूर सम्भावनाका बाबजुद ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो । यसका लागि काठमाडौँबाट करिब ५० विद्युतीय सवारीसाधनमा उनीहरु सोलुखुम्बु पुगेका थिए ।
‘स्पार्क एड्भेञ्चरको उद्देश्य ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र विद्युतीय सवारीसाधनमार्फत ग्रिन मोबिलिटी प्रवद्र्धन गर्नु हो, पहिलो संस्करण लम्जुङको भुजुङ र दोस्रो संस्करण दोखलाको शैलुङमा आयोजना गरिएको थियो । यसपटक गौरीटाप रोजाइमा प¥यो’, स्पार्क कारका निर्देशक सीताराम घिमिरेले भने ।
निर्देशक घिमिरेका अनुसार सगरमाथालाई नजिकबाट नियाल्नका लागि गौरीटाप काठमाडौँबाट सबैभन्दा नजिकको गन्तव्य हो । कालोपत्रे सडकलगायतका पूर्वाधारको सुविधा हुँदा पनि आवश्यक प्रचारप्रचारको अभावमा गौरीटाप पर्यटकीय गन्तव्य बन्न नसकेको उनको भनाइ छ । समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय गन्तव्य हो । काठमाडौँबाट २३० किलोमिटरको दूरीमा रहेको गौरीटाप सत्ययुगमा माता गौरीले तपस्या गरेको स्थानका रुपमा परिचित छ ।
चारपाङ्ग्रे सवारीसाधनमै पुग्न सकिने गौरीटापबाट सगरमाथालगायतका आठ हजार मिटरभन्दा अग्ला गौरीशङ्कर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनजङ्घालगायतका हिमाल तथा चुचुराको दृश्यावलोकन गर्न सकिन्छ ।लालीगुराँसको घनाजङ्गल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुराँस पाइन्छन् । धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरीटापमा गौरीशङ्कर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर र शिव पञ्चायन मन्दिर छन् ।
आँखा अगाडि देखिने हिमश्रृंखलाको अघिल्तिर कलाकारहरु विमलराज क्षेत्री, सुनिता दुलाल, सन्दीप क्षेत्री, राजा राजेन्द्र, आस्था राउत र राजु लामा एण्ड मंगोलियन हर्टले आफ्नो प्रस्तुति दिएका थिए । सो क्रममा सांस्कृतिक एकता, रैथाने खाना र संस्कृतिको प्रवद्र्धन गर्न अभिनेता राजेश हमालले आग्रह गरे ।यस्तै, कतैबाट पनि पहिचानमा आउन नसकेको ठाँउहरुलाई छनोट गरेर प्रत्येक वर्ष यस्तै कार्यक्रम गर्ने भन्दै नेपालको भूगोल र युवाहरुको रुचि भएका सहासिक र रोमान्चक कार्य पनि बढाउने निर्देशक घिमिरेले जानकारी दिए ।
उनले भने, ‘नेपालको भूगोल नै रोमान्चक खालको भएको हुनाले र युवा जमात पनि साहसिक काम गर्न रुचाउने भएको हुनाले पनि साहसिक कामलाई प्रोत्साहन गर्न चाहन्छौ, हामी प्रत्येक वर्ष यस्ता कामहरु गर्नेछांै । कतैबाट पनि पहिचानमा आउन नसकेको ठाउँहरुलाई छनोट गरेर प्रत्येक वर्ष कार्यक्रम गर्नेछौ ।’उनले स्थानीय उत्पादन, साना उद्योगहरु जतिपनि छन्, त्यसलाई पनि व्यापारिक गर्ने उद्देश्यले कार्यक्रमहरुको आयोजना गरेको बताए । नेपालमा विद्युतीय सवारी साधनको बढ्दो प्रयोगलाई पनि ध्यानमा राखेर त्यसलाई प्रोत्साहन गर्ने हिसाबमा पनि बढिभन्दा बढि विद्युतीय सवारी साधनको प्रयोगलाई बढाएको पनि उनले जानकारी दिएका छन् ।
उनका अनुसार, ‘पर्यटन प्रवद्र्धनको लागि कार्यक्रमहरु गर्दै जाँदा अहिले धेरै ठाँउबाट कार्यक्रम गर्नको लागि फोनहरु आउने गरेको छ । विशेषगरी सवारी व्यवस्थापन गर्ने काम हो । यस वर्ष हामीले विद्युतीय गाडीलाई प्रवद्र्धन गर्नको लागि पनि विद्युतीय सवारी साधनलाई बढाएका छौ । यस्ता सवारी साधन बढे अनुसारको चार्जिङ् स्टेशन छैन् । यसमा स्थानीय सरकारले पनि आफ्नो लगानी गर्न सुरु गरेको छ । अब चार्जिङ् स्टेशनहरु पनि बढ्ने आशा गरेको छु ।’
प्रतिक्रिया