नेप्से परिसूचक ४७.४४ अङ्कले घट्यो, कारोबार रकम आठ अर्ब बढी

२०८१ कात्तिक ०४ गते

नेप्से परिसूचक ४७.४४ अङ्कले घट्यो, कारोबार रकम आठ अर्ब बढी

काठमाडौँ। लगातार चार दिनदेखि बढेको नेप्से, यस हप्ताको पहिलो कारोबार दिन भने भारी अंकले घटेको छ । यस दिन बजार ४७.४४ अंकले घटेर २६९७.९१  बिन्दुमा बन्द भएको छ ।  बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.७२ प्रतिशतले घटेको हो ।

नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । गत शुक्रबार सात अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज भने ३१५ स्टकको ८८ हजार सात सय १४ पटकको कारोबारमा आठ अर्ब १८ करोड रुपैयाँ बराबरको दुई करोड आठ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। जसमा १८ वटा कम्पनीको शेयर बढेको छ भने २२६ वटा कम्पनीको शेयर घटेको छ ।

Advertisement:

Ad
Ad

आइतबार नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने म्युचुवल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ । यस दिन सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक चार प्रतिशतले घटेको छ। त्यस्तै लाइफ इन्स्योरेन्स उपसमूह २.४६ प्रतिशत, विकास बैंक उपसमूह २.३४, होटल तथा पर्यटन क्षेत्र २.२३, हाइड्रोपावर उपसमूह २.१४, उत्पादन तथा प्रशोधन उपसमूह २.०५ प्रतिशतले घटेको छ।

यस दिन सर्वाधिक बढ्ने स्टकमा कुथेली बुखारी स्मल हाइड्रोपावर रह्यो जसको शेयरमा साकारात्मक सर्किट लागेको छ । त्यस्तै सर्वाधिक घट्नेमा इस्टर्न हाइड्रोपावर रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

आइतबार सर्वाधिक रकमको कारोबार गर्नेमा गुडवील फाइनान्स रह्यो जसको ४५ करोड ७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा कुमारी बैंक रह्यो जसको १५ लाख ३६ हजार कित्ता शेयर किनबेच भएको छ ।