नेपाली घ्यू दोस्रो पटक पुनः जापान निर्यात, प्रदेश सरकारको अनुदानले थप्यो व्यवसायीमा उत्साह

२०८१ असोज १३ गते

नेपाली घ्यू दोस्रो पटक पुनः जापान निर्यात, प्रदेश सरकारको अनुदानले थप्यो व्यवसायीमा उत्साह

काठमाडौँ । नेपाल डेरी एसोसिएसनको सदस्य रहेको सूर्योदय मिल्क एण्ड बेभरेज उद्योग विराटनगरले परम ब्रण्डको घ्यू दोस्रो पटक जापान पठाएको छ । उद्योग स्थापना भएको छोटो समयमा नै अत्याधुनिक प्रविधिबाट उत्पादन गरेको घ्यू जापान निर्यात गर्न सफल भएको छ ।

उद्योगले गत जेठ १३ गते पहिलो पटक १२ सय किलो घिउ, ३ हजार किलो चिउरा, १२ सय किलो चियापत्ती र १२ सय किलो मह जापान पठाएको थियो । बुधबार पुनः १५ सय किलो घिउ ४ हजार किलो चिउरा, १८ सय किलो चियापत्ती र १२ सय किलो मह जापान पठाएको उद्योगका सञ्चालक एवं नेपाल डेरी एसोसिएसनका केन्द्रिय सदस्य मनोज यादवले बताएका छन् । यादवका अनुसार जापान पठाएको सामान एक हप्तामै खपत भएको र पुनः डिमाण्ड आएपछि दोस्रो पटक पठाइएको हो ।

Advertisement:

Ad
Ad

अघिल्लो पटकभन्दा यसपटक चिउरा र चियापत्तीको परिमाण बढाएको उद्योगले जनाएको छ ।जापानबाट प्रतिमहिना ५ हजार किलो घिउको माग आएकोले यो डिमाण्डलाई निरन्तर पूरा गर्ने यादवले जनाएका छन् । सूर्योदय मिल्क एण्ड बेभरेज उद्योगसँग जापानमा रहेको पद्मा कर्पोरेसन लिमिटेडले नेपालको घ्यू वार्षिक ५० मेट्रिक टन लिने सम्झौता गरेको छ ।

उक्त कम्पनीले जापानसहित ६–७ वटा देशमा सामान निर्यात गर्ने जनाइएको छ । उद्योगले हाल गुणस्तरीय स्तरको दुध, चिया दुध, दुध पाउडर, घिउ, पनिर, दहि, बटर लगायतका प्रोडक्टहरु उत्पादन गर्दै आएको छ । गत वर्ष कोशीमा दूधको अत्याधिक उत्पादन हुँदा उद्योगमा धूलो दूध अत्यधिक उत्पादन भएको थियो । उद्योगमा अहिले पनि करोडौं मूल्यको दुधजन्य वस्तु स्टकमा छ । उद्योग सञ्चालक यादवका अनुसार आन्तरिक डिमाण्ड बढेको खण्डमा पनि निर्यातले निरन्तरता पाउनेछ ।

विगतमा डिडिसीले जापानमा घिउ पठाउने गरेकोमा माग अनुसार पठाउन नसक्दा सम्झौता रद्द भएको थियो ।कोशी प्रदेश सरकारले निर्याततर्फ घ्युमा प्रतिकिलो १२०, नौनीमा ९० रुपैयाँ, होलमिल्क पाउडरमा ८० रुपैयाँ र स्किम मिल्क पाउडरको लागि ७० रुपैयाँ अनुदान दिँदै आएको छ । प्रदेश सरकारले अन्य अनुदानका कार्यक्रम कटौती गरेको भएपनि निर्यातमा दिने अनुदानलाई भने निरन्तरता दिएको कुरा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी गराए।