२०८१ साउन १८ गते
काठमाडौँ । तत्कालिन सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी गाभिएर २०७९ साल कात्तिक ७ गतेदेखि एकीकृत कारोबार शुरु गरेको कम्पनी हो सानिमा जीआईसी इन्स्योरेन्स् कम्पनी । नेपालमा हाल कायम चौध निर्जिवन बीमा कम्पनीको दौडमा छिट्टै अगाडी बढ्न सफल भएको छ सानिमा जीआईसी इन्स्योरेन्स् ।
यतिबेला समग्र निर्जिवन बीमा कम्पनीहरु ३ प्रशितभन्दा कमले बिस्तार भइरहँदा सानिमा जीआईसी इन्स्योरेन्स् कम्पनीले भने १२ प्रतिशतले व्यवसाय बिस्तार गरिरहेको छ । यो सफलताको श्रेय विगत २७ वर्षदेखि अनवरत बीमा क्षेत्रमा क्रियाशिल रहेका सुद्युम्नप्रसाद उपाध्याय जो हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रुपमा छन् उनको कुशल नेतृत्वलाई जान्छ । उनै प्रमुख कार्यकारी अधिकृत उपाध्यायसँग वाणिज्यपोष्ट डटकमकर्मी रुपा घिमिरेले समग्र बीमासँगै निर्जिवन बीमा क्षेत्रको विकास विस्तार र यसले आम मानिससम्म पुर्याएको बीमा सुरक्षा लगायतका विषयमा केन्द्रित भएर गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ –
अर्थतन्त्र सिथिल भएको अवस्थामा अवको बीमाको भविश्य कस्तो छ ?
बीमा व्यवसायको भविश्य राम्रो छ, नराम्रो हुने कुरा नै भएन । जसरी देशमा आर्थिक विकास विस्तार हुन्छ सोही अनुसार देशमा बीमा क्षेत्रको पनि विकास र महत्व बढ्दै जाने हो । मैले बीमा व्यवसायमा प्रवेश गरेको २७ वर्षमा विभिन्न उतारचढावहरु देखेको छु । नेपाली बीमा बजार हामीजस्तै आर्थिक स्थिती भएका अन्य देशभन्दा हाम्रो बीमा बजार परिपक्व रहेकोे मैले पाएको छु ।
बीमा प्राधिकरणको सर्वेक्षणअनुसार जिवन बीमाको ७ प्रतिशत हाराहारीले व्यवसाय बिस्तार भएको छ तर निर्जिवन बीमाको कुरा गर्दा २दशमलव ७ प्रतिशत हाराहारीमा मात्र बिस्तार भएको रिपोर्ट छ, किन खुम्चियो निर्जिवन बीमाको बजार ?
एउटा कुरा त टोटल प्रिमियमको भोल्युमको आधारमा हेर्दा निर्जिवन बीमा व्यवसाय २ दशमलव ७ प्रतिशतको मात्र ग्रो देखियो । यसो हुनुमा विगत वर्षका अर्थतन्त्र त्यति उत्साहजनक रहेन । अरु क्षेत्र पनि त्यस्तै देखिए । बीमा भनेको सप्लिमेन्ट क्षेत्र हो नकि प्राइमरी । जस्तो देशमा अर्थतन्त्रका दायरा घटिरहेकोे अवस्थामा बीमा मात्रै बढ्ने कुरै हुँदैन । आयात घटिरहेको छ भने ट्रान्जिट इन्स्योरेन्स यसै घट्छ । सवारीसाधनको आयात घट्यो त्यसको बीमा पनि घट्न पुग्छ ।व्यापार व्यवसाय पनि बढेको छैन । तर त्यसो भनिरहँदा भोल्युम ग्रोथ घटेपनि नम्वर अफ पोलिसीको हिसावले ग्रोथ नराम्रो छैन । पेनिट्रेशन पनि बढेको छ । बीमा सचेतना पनि बढेको छ । बीमा को भविश्य नराम्रो पटक्कै छैन ।

निर्जिवन बीमामा अटो सेक्टरमा बढी बीमा गर्ने देखिए,सम्पत्ति बीमा जुन रुपमा हुन पर्ने हो त्यति किन हुन सकेन ?
अटोमोबाइलमा नेपालको सवारी यातायात नियमावलीले तेस्रो पक्ष बीमा गर्नु भन्ने व्यवस्था छ । अटोको व्यवसाय अझ बढ्नपर्ने हो यायातात व्यवस्था विभागले सवारी रिन्यू गर्ने बेलामा कडाईका साथ हेर्दियो भने अझ यो अटो बीमा व्यवसाय बढ्छ । विकासोन्मुख देशमा धेरै जसो अटोमोबाइल बीमामा पेनिट्रेशन अलि बढी हुन्छ अन्य देशमा पनि त्यही छ । जहिले पनि हामी बीमामा के भन्छौँ भने हाइ सिभरेटी लो फ्रिक्वेन्सी हुन्छ । अटोमोबाइलमा सामान्य दुर्घटना भइरहेको हुन्छ । त्यसकारण पनि अटो सेक्टरमा बीमा सचेतना बढेको छ । अरु क्षेत्रमा एक चोटी हुने कहिले हुने भन्ने ठानेर एक पटक गरेर बिर्सने बानी भएको छ ।
अब अलिकती लामो समयदेखि भुक्तानी हुन बाँकी रहेर सुल्झिन नसकेको कोरोना बीमाको विषयमा कुरा गरौँ,महालेखा परीक्षकको कार्यालयले कोरोना दाबी भुक्तानी सम्वन्धित बीमा कम्पनीलेनै व्यहोर्न पर्ने जनाएको थियो तर नयाँ सरकारका अर्थमन्त्री विष्णु पौडेलले कोरोना बीमा दाबी भुक्तानीमा सहयोग गर्ने संकेत गरेका छन् अव के हुन्छ भुक्तानी प्रक्रिया ?
कुनै पनि सिमित पूँजी भएका बीमा कम्पनीले महामारीको बीमा गदैनन् । त्यो गर्न सक्ने कुरै हुँदैन । कोरोना बीमाको हकमा पनि हामीले त्यो बेलामै कारोना बीमाको पूनर्बिमा नहुने भएकाले हामीले दायित्व बहन हुन सक्दैन भनेका थियौँ । त्यसबेलाको सरकारले नै एउटा निश्चित रकमभन्दा बढी नोक्शानी भए सरकारले नै व्यहोर्छ भन्ने आश्वासन दिएपछि कम्पनीहरुले बीमा गरेका थिए । अहिले पनि हामी सरकारी तवरबाट नै समाधान ह्ुन्छ भन्नेमा ढुक्क छौँ । बीमा कम्पनीले त्यहीपनि आफ्नो दायित्वभन्दा बढी भुक्तानी गरिसकेको छ । राज्यलेनै आफैंले प्रतिवद्धता गरेको कुरामा राज्यबाटै यसको समाधान हुनपर्छ ।
सानिमा जीआइसी इन्स्योरेन्स कम्पनीको बारेमा कुरा गरौँ, यो कम्पनी मर्जरमा जुन स्पिरिटमा गएको थियो त्यो कायम छ कि छैन ?कस्तो छ कम्पनीको अवस्था ?
नेपालको बीमाको मर्जरको इतिहाँस हेर्दा हामीले दुइटै कम्पनी नयाँ भएपनि मर्जर प्रक्रिया छिटो सल्टाएको कम्पनी हाम्रो रह्यो । भर्खरै स्थापना भएको पाँच वर्ष पनि नपुगेको कम्पनी मर्ज हुँदा कस्तो असर पर्ला भन्ने थियो तर एकदमै पोजेटिभ पाएका छौँ । यति खेर फुल अपरेशनमा छौँ । हामी राइट ट्रयाकमा छौँ मर्जरले सिनर्जी क्रिएट भएको छ । दुई साना साना कम्पनी मर्ज नभएको भए आज हामी लास्ट पोजिसनमा हुन्थ्यौँ होला तर मर्जरकै कारण आज हामी एभरेज पोजिसनमा छौँ ।
यो कम्पनीले नियामक प्राधिकरणले तोकेको पूँजिकोष पुरा गर्न सकेकोे छैन,हकप्रद शेयर जारी गरेर भएपनि पूँजी पुरयाउने कुरा भएको थियो कसरी अगाडि बढ्दै छ कम्पनी ?
अहिले हामी २५ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि रजिष्ट्रार नियुक्ती गरिसकेका छौँ । हकप्रद शेयरका लागि कम्पनी रेटिङको प्रोसेसमा छौँ । रेटिङको लागि धितोपत्र बोर्डमा आवश्यक प्रक्रिया अगाडी बढाएर पूँजी पुर्याउने कुरामा हाम्रो प्रतिवद्धता छ, जसरी पनि पुग्छ त्यसमा शंका छैन । हामीलाई अन्य पुराना कम्पनीलाई जस्तो रिजर्वबाट या डिभिडेन्डबाट पूँजी पुर्याउने सुविधा छैन । किनकि दुईटै नयाँ कम्पनी हौँ, त्यत्रो रकम ती कोषहरुमै छैन ।
निर्जिवन बीमा कम्पनीहरुको दाबी भुक्तानी बाँकी हुने समस्या छ सानिमा जीआईसीको पनि १ अर्ब बढी दाबी भुक्तानी तिर्न बाँकी छ, भुक्तानीमा ढिलाई किन भयो ?
बक्यौता भनेको दुईथरी हुन्छ। एउटा नम्वरमा कति छ भन्ने कुरा हो अर्को भ्यालु कति छ भन्ने हुन्छ । हाम्रोमा कुरा गर्दा पूर्वमा गत वर्ष आएको बाढीले दुईवडा हाइड्रोमा नोक्शानी पुर्याएको हुँदा त्यसकारणले हाम्रो बक्यौता धेरै देखिएको हो तर संख्यात्मक हिसावले हेर्ने हो भने हाम्रो धेरै छैन । हामी सुविधाजनक स्थितीमै छौँ । पहिलेको तुलनामा सानिमाको मात्र कुरा नगरी समग्र बजारकै कुरा गर्दा अहिले दाबीहरु सेटलमेन्टको रफ्तार बढेको छ ।सहज भएको छ । पहिला धेरै जटिलताहरु हुने, बीमीत वर्गले पनि हत्तपत्त नबुझ्ने समस्याले ढिला हुन्थ्यो भने अहिले स-ससाना क्लेमहरु इन्स्योरेन्स कम्पनीहरुले आफैं सेटलमेन्ट गरिरहेका छन् । पाँच वर्ष अघिको तुलना गर्दा धेरै सुधार भएकै हो । प्रोपर्ली बीमा कम्पनीले पूनर्बीमा गरेका छन् भने दायित्व भुक्तानीमा समस्या हुँदैन ।
कृषि बीमा जसरी अघि बढ्न पर्ने हा ेत्यसरी किन अघि बढ्न सकेन ?कृषि बीमाको मोडल उपयुक्त भएन कि ?
हामीले अहिले जुन ढंगले कृषि बीमा गरिरहेका छौँ त्यो बीमा पुरानो ढंगको छ । विश्वव्यापी प्राक्टिस हेर्ने हो भने कृषि बीमा इन्डेक्स बेस्डमा हुन्छ । पानी बढी परे कृषकको शुत्रअनुसार यती उत्पादन हुनपथ्र्यो वा हावाहुरीले एक क्षेत्रमा नोक्शानी पुर्याए खेतीमा क्षति पुगे नपुगे बमोजिमको औसत नोक्शानी गणना गरेर बीमा क्षतिपूर्तिको भुक्तानी दिने व्यवस्था भए कृषिको बीमा प्रभावकारी हुन्छ । अहिले जुन व्यवस्था छ त्यसले कृषि बीमा करारमा भवितव्य परे कसरी व्यहोर्ने भन्ने प्रक्रिया जटिल बनाइएको छ । जसले गर्दा नोक्शानीमा परेकालाई कसरी भुक्तानी गर्ने भन्ने अन्यौलता रहने गरेको छ । हाम्रो जमिनको खण्डिकरण भएकाले व्यवसायिक कृषिनै कम छ, निर्वाहमुखी कृषि बढी भयो । निर्वाहमुखी कृषि हुँदा व्यवसायिक कृषिमा जस्तो पहुँच पुग्न सकेको छैन । यसले पनि कृषि बीमाले जसरी समग्र कृषिमा सपोर्ट गर्न पर्ने हो त्यो नसक्ने अवस्था रह्यो ।
अन्त्यमा बीमा क्षेत्रमा करियर बनाउन चाहेकाहरुलाई कस्तो सुझाव दिन चाहनुहुन्छ ?
बीमा ग्लोबल बिजनेशसँग लिंक हुने चिज हो । आज तपाइँले आफूलाई बीमा विज्ञको रुपमा स्थापित गर्न सके एउटा क्षेत्रमै सिमित हुन पर्छ भन्ने छैन । आफ्नो एक्स्पर्टिजलाई लिएर विश्वभर काम गर्न सक्ने अवस्था रहन्छ । जस्तो अहिले नेपाल एक्चुअरीको पढाई हुन थालेको छ । बीमामा पनि इन्सुरेन्स इन्स्टिच्युट नेपाल जस्तो संस्थाहरुले बीमाको ट्रेनिङ दिइरहेको छ । बीमामा राम्रोसँग लागेर मेहनत गर्यो भने राम्रो भविश्य छ । यो टेक्निकल विषय हो । आफ्नो एक्स्पर्टिज बढाउन दक्षता बढाउनै पर्छ । यदी मेहनत गरे ग्लोबल अपरच्युनिटी छ । हामी भन्दा अघिल्ला पुस्ताका एक्स्पर्टहरु यतिखेर विभिन्न देशहरुमा छन् राम्रो गरिेरहेका छन् । म त भन्छु बीमा क्षेत्र नयाँ पुस्तालाई करियरको लागि राम्रो अप्सन हो ।
प्रतिक्रिया