२०८२ चैत २९ गते
रुपन्देही । बुटवलस्थित लुम्बिनी प्रदेश अस्पतालको आधुनिक भवन निर्माण गरिरहेका निर्माण व्यवसायीले सरकारले समयमै भुक्तानी गर्न नसकेको बताएका छन् । प्रदेश सरकारले गौरवको आयोजना घोषणा गरेको उक्त परियोजनामा रकम अभाव हुँदा निर्माण कार्य प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ ।
दुई तला अन्डरग्राउन्डसहित १२ तले भवन निर्माणको काम ‘क्यापासाइट–आशिष–रेलिगेयर’ जेभी कम्पनीले गरिरहेको छ । हाल अन्डरग्राउन्डको काम सम्पन्न भइसकेको छ भने माथिल्लो तेस्रो तलाको ढलान सम्पन्न भई चौथो तलाको काम भइरहेको छ । निर्माण स्थलमा दैनिक तीन सयभन्दा बढी कामदार खटिएका छन् ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी निर्देशक छविराज पोखरेलका अनुसार परियोजनाको हालसम्म ३७ दशमलव २१ प्रतिशत भौतिक तथा २७ दशमलव ३३ प्रतिशत वित्तीय प्रगति भएको छ । परियोजनाको प्रारम्भिक अनुमानित लागत ८ अर्ब ९९ करोड ६४ लाख रुपैयाँ रहेको थियो । २०८० पुस २६ गते सरकार र निर्माण कम्पनीबीच ७ अर्ब १५ करोड ९४ लाख ७३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८५ पुस २५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सम्झौता र कार्यप्रगति अनुसार निर्माण व्यवसायीलाई हालसम्म ५ अर्ब २२ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ । तर सरकारले हालसम्म ३ अर्ब ४० करोड रुपैयाँ मात्रै भुक्तानी गरेको छ । परियोजनाका साइट इन्चार्ज इन्जिनियर शङ्कर सुवेदीका अनुसार पहिलो वर्ष १ अर्ब २० करोड रुपैयाँ भुक्तानी हुनुपर्नेमा ६० करोड रुपैयाँ मात्र प्राप्त भएको थियो ।
त्यस्तै दोस्रो वर्ष २ अर्ब ५३ करोड रुपैयाँको बिल पेश गरिएकोमा १ अर्ब ८० करोड रुपैयाँ मात्र भुक्तानी भएको उहाँले जानकारी दिए । चालु वर्ष अघिल्लो वर्षको बाँकीसहित २ अर्ब २२ करोड रुपैयाँको बिल पेश गर्दा १ अर्ब रुपैयाँ मात्र भुक्तानी भएको छ । हालसम्म झण्डै २ अर्ब ५५ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताइएको छ ।
सम्झौताअनुसार निर्धारित अवधिमा भुक्तानी नभएमा सरकारले राष्ट्र बैङ्कको बेस रेटमा ३ प्रतिशत थप गरेर निर्माण कम्पनीलाई जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको छ । निर्माण कम्पनीले जरिवाना दाबी गरेमा साइटमा झारिएको सामग्रीको आयात तथा निर्यात भाडा पनि सरकारले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ ।
निर्माण सम्पन्न भएपछि अस्पतालमा ७ सय शय्याको सुविधा थप हुने बताइएको छ ।
प्रतिक्रिया