लयमा फर्किन थाल्यो घर जग्गा कारोबार

२०८० फागुन ०१ गते

लयमा फर्किन थाल्यो घर जग्गा कारोबार

काठमाडौं । घर जग्गा कारोबार बिस्तारै लयमा फर्किन थालेको छ । पछिल्लो महिना कारोबार क्रमिक रूपमा बढ्दै गएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा पनि देशभर घर जग्गा किनबेच बढेको हो ।

विभागको तथ्याङ्क अनुसार माघमा मात्रै देशभर ५० हजार ९२१ वटा घर जग्गा किनबेच भएको छ । जुन गत वर्षको सोही महिनाको तुलनामा २३।९३ प्रतिशत बढी हो । गत वर्षको माघ महिनामा देशभर ४१ हजार ८६ वट मात्रै घर जग्गा किनबेच भएको थियो ।

Advertisement:

Ad
Ad

विभागको तथ्याङ्क अनुसार गत मङ्सिरदेखि नै घर जग्गा कारोबार बढिरहेको छ । गत मङ्सिरमा कुल ४१ हजार ८५१ वटा घर जग्गा लिखत पारित भएको थियो । यस्तै, गत पुसमा पनि ४५ देशभर २७७ वटा घर जग्गा किनबेच भएको विभागले जनाएको छ ।

अर्थतन्त्रमा देखिएको सकारात्मक सुधारसँगै घर जग्गा कारोबारमा पनि बढोत्तरी आएको हो । नियामकको सहज नीतिको सकारात्मक प्रभाव कारोबार परेको व्यवसायीहरू बताउँछन् । सरकारले पनि सुस्ताएको अर्थतन्त्र चलायमान बनाउने भन्दै कित्ताकाट लगायतको नीति खुकुलो पारेको छ भने नेपाल राष्ट्र बैङ्कले पनि घर जग्गा कर्जा लगानीमा लचक नीति अघि सारेको छ ।

राष्ट्र बैङ्कले व्यक्तिगत आवासीय कर्जाको सीमा ५० लाखबाट बढाएर दुई करोड पुर्‍याएको छ । यस्तै, घर जग्गा धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेको छ । यस्तो सहज नीतिका कारण नै मासिक रूपमा घर जग्गा कारोबार बढ्दै गएको देखिन्छ । चालु आवको पहिलो महिना अर्थात् साउनमा देशभर ३९ हजार २६३ वटा घर जग्गा किनबेच भएको थियो । यस्तै, भदौ महिनामा ३५ हजार ६८६, असोजमा ३९ हजार ७९३ र कात्तिकमा २६ हजार ५६ वटा घर जग्गा किनबेच भएको थियो ।

अर्थतन्त्रका सूचकहरू बिस्तारै सकारात्मक रूपमा सुधारोन्मुख छन् । आर्थिक गतिविधि पनि चलायमान हुँदै गइरहेको छ, जसले घर जग्गा कारोबार बढाएको छ । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम पनि बढ्दो नै छ । बैङ्क ब्याजदर पनि घट्दो ट्रेन्डमा छ, कर्जाकै ब्याजदर पनि एकल अङ्कमा झरिसकेको छ ।

आर्थिक शिथिलता, बढ्दो बजार महँगी र चर्को ब्याजदरले गत वर्ष र केही महिना अघिसम्म घर जग्गा कारोबारले गति लिन सकिरहेको थिएन । तर, पछिल्लो समय अर्थतन्त्र बिस्तारै चलायमान हुने सङ्केत देखिएको छ । सहज रूपमा कित्ताकाट हुने हो भने कारोबार अझै बढ्ने व्यवसायीहरूको अपेक्षा छ । आर्थिक गतिविधि बढ्नु, बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिनु र घट्दो ब्याजदर ट्रेन्डले आगामी महिना कारोबारमा सुधार आउने व्यवसायीहरू बताउँछन् ।