लक्ष्यअनुसार राजस्व सङ्कलन नहुने भएपछि आगामी आर्थिक वर्षमा बजेट कटौतिको सम्भावना

२०८१ चैत १० गते

लक्ष्यअनुसार राजस्व सङ्कलन नहुने भएपछि आगामी आर्थिक वर्षमा बजेट कटौतिको सम्भावना

काठमाडौँ । सार्वजनिक ऋणको सावा–ब्याज भुक्तानी, सामाजिक सुरक्षामा खर्च हुने रकमजस्ता अनिवार्य दायित्व निरन्तर बढ्ने तर सरकारको राजस्व लक्ष्यअनुसार सङ्कलन नहुने अवस्था देखिएपछि अधिकांश विषयगत मन्त्रालयहरूले चालु आर्थिक वर्ष (आव) को भन्दा आगामी आवका लागि कम बजेट पाउने सम्भावना देखिएको छ ।

राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आव २०८२/८३ का लागि रु १९ खर्ब ६५ करोडको बजेट सिलिङ निर्धारण गरेको छ । सरकारले यही सीमाभित्र रहेर बजेट ल्याउनुपर्ने हुन्छ । चालु आवको रु १८ खर्ब ६० अर्ब ३० करोडको वास्तविक विनियोजनभन्दा आगामी आवको बजेट सिलिङ केही बढी देखिए पनि अनिवार्य दायित्वमा खर्च बढ्ने भएपछि विकास खर्च बढी हुने मन्त्रालयले नै न्यून बजेट पाउने अवस्था आएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, कृषि तथा पशुपन्छी विकासलगायत पुँजीगत खर्च बढी हुने मन्त्रालयको बजेट नै कटौतीमा पर्ने देखिएको छ ।

Advertisement:

Ad
Ad

आगामी आवका लागि रु १९ खर्ब ६५ करोडको बजेट सिलिङ निर्धारण गर्दा आन्तरिक राजश्वबाट रु १२ खर्ब ६३ अर्ब १० करोड मात्रै प्राप्त हुने अनुमान गरिएको छ । स्रोत अनुमान समितिले दिएको सिलिङअनुसार बजेट ल्याउने हो भने रु छ खर्ब ३७ अर्ब ५५ करोड स्रोत अपुग हुने यसले देखाउँछ । स्रोतको आँकलन गर्दा चालु आवको आन्तरिक राजस्वको लक्ष्य र आगामी आवको अनुमानमा खासै ठूलो अन्तर देखिँदैन । मध्यावधि समीक्षामार्फत कायम गरिएको राजस्व लक्ष्यका तुलनामा भने करिब १० प्रतिशतले बढ्ने सरकारको अनुमान छ ।

ऋणको सावा–ब्याज तिर्न चार खर्ब १० अर्ब चाहिने सार्वजनिक ऋणको साँवा ब्याज तिर्न यस वर्ष सरकारले रु चार खर्ब दुई अर्ब ८५ करोड विनियोजन गरेको थियो तर आगामी आवमा सरकारी ऋण तिर्न रु चार खर्ब १० अर्ब भन्दाबढी रकम चाहिने समितिले जनाएको छ । आगामी आवमा आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीका लागि रु तीन खर्ब ४३ अर्ब ५५ करोड ८७ लाख चाहिने अनुमान छ ।

चालु आवमा यस्तो ऋण तिर्नका लागि सरकारले रु तीन खर्ब ३६ अर्ब ९५ करोड ४४ लाख विनियोजन गरेको थियो । यस्तै, बाह्य ऋणको सावा–ब्याज तिर्न आगामी आवमा रु ६७ अर्ब १८ करोड ९८ लाख बराबर चाहिने देखिएको छ । जसमध्ये बहुपक्षीय वैदेशिक ऋणको साँवा ब्याज भुक्तानीका लागि रु ४९ अर्ब ६१ करोड २७ लाख र द्विपक्षीय वैदेशिक ऋण तिर्न रु १७ अर्ब ५७ करोड ७१ लाख चाहिने अनुमान गरिएको छ । चालु आवका लागि सरकारले बाह्य ऋण तिर्न रु ६५ अर्ब ८९ करोड ८२ लाख विनियोजन गरेको थियो ।

अर्थ विविध शीर्षक अर्थात् अबण्डामा ठूलो रकम राखेर तजबिजीमा गर्ने परिपाटीमाथि विगतका वर्षहरूमा संसद्मै आलोचना हुने गरेको छ । चालु आवका लागि सरकारले रु ७५ अर्ब ९५ करोड अबण्डामा राखेर बजेट लाएको थियो तर स्रोत अनुमान समितिले आगामी आवको बजेटका लागि रु एक खर्ब दुई अर्ब २७ करोड ८८ लाख बराबर बजेट अर्थ विविध शीर्षकमा राख्न सकिने गरी सिलिङ निर्धारण गरेको छ ।

आगामी आवका लागि प्रदेश र स्थानीय तहमा सङ्घ सरकारबाट जाने वित्तीय हस्तान्तरणतर्फको बजेट भने केही बढ्न सक्ने गरी सिलिङ निर्धारण भएको छ । चालु आवका लागि सरकारले वित्तीय हस्तान्तरणतर्फ रु चार खर्ब आठ अर्ब ८७ करोड विनियोजन गरेको थियो । आगामी आवका लागि यसको सीमा रु चार खर्ब १३ अर्ब ३९ करोड तोकिएको छ । जसमध्ये प्रदेशलाई रु ९७ अर्ब ५१ करोड १७ लाख र स्थानीय तहलाई रु तीन खर्ब १५ अर्ब ८७ करोड ८३ लाख बराबर सिलिङ तोकिएको छ ।