क्याप्टेन मनिष शाक्यले खोले दुर्घटनाको रहस्य- '१०० फिटमा पुगेपछि जहाज उल्टै तल खस्न थाल्यो'

२०८१ साउन १० गते

क्याप्टेन मनिष शाक्यले खोले दुर्घटनाको रहस्य- '१०० फिटमा पुगेपछि जहाज उल्टै तल खस्न थाल्यो'

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा  उपचार भइरहेको छ ।

क्याप्टेन शाक्य सामान्य कुराकानी सक्ने भएका छन् । बिहीबार बिहान केएमसीकी मेडिकल डाइरेक्टर डा. मिना थापासँग क्याप्टेन शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको कुरा खुलाएको बताएकी छिन् । ‘करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ उल्टै तल खस्न थाल्यो, ‘त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन ।’‘एकैपल्ट थिचिएको जस्तो अनुभव भयो । सानो प्वालबाट आफैं बाहिर निस्किएँ । त्यसबाट नस्किन लाग्दा कसैले मलाई तानेको याद छ,’ पाइलट मनिष शाक्यले भनेको कुरा डाक्टर मिनाले सुनाइन् ।

Advertisement:

Ad
Ad

काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै परिसरभित्रै दुर्घटना भएको थियो । घटनामा परेर १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पतालमा ११ः३० मा पुर्‍याइएको थियो ।

अस्पतालका अनुसार क्याप्टेन शाक्यको शरीरका विभिन्न भागमा चोटपटक लागेका हुनाले हाडजोर्नी विशेषज्ञ, न्यूरोसर्जन, नाक, कान घाँटी लगायत विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच गरिरहेका छन् । डा. थापाका अनुसार बुधबारै क्याप्टेन शाक्यको सिटीस्क्यान, एक्सरे, रगत लगायत परीक्षण गरिएको थियो । शाक्यको नाकको हड्डी भाँचिएको छ । त्यसैगरी ढाडको एक हड्डी भाँचिएको छ । ‘हिजो गरिएको सिटीस्यानको रिपोर्टले ढाडको हड्डी भाँचिएको देखिएको छ । तर शरीरको अन्य भागमा ठूलो चोट देखिएको छैन,’ डा. थापाले सुनाइन् ।

डा. थापाका अनुसार क्याप्टेन शाक्य खतरामुक्त छन्  र स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको छ ।

#क्याप्टेनमनिष शाक्य#वाणिज्यपोष्ट