२०८० फागुन ०१ गते
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्रको संचालक समितिको छैंटौ बैठक समितिका सभापति डि.बि. बस्नेतको अध्यक्षतामा सम्पन्न भयो ।
बैठकमा कृषि मन्त्रालयका डा. प्रधुम्नराज पाण्डे, उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्रालयबाट चित्रा कुमारी कठायत, कृषि उद्यम केन्द्रका सह सभापति राजकुमार कार्की लगायत अन्य संचालक समितिका सदस्यहरु प्रल्हाद दाहाल, डा. रत्न कार्की, सुनिता न्हेम्हाफूकि, मनोज चापागाई, अर्जुन श्रेष्ठ, झलक श्रेष्ठ, आशिष शर्मा, कृष्णभक्त श्रेष्ठ, खिम बहादुर हमालको बैठकमा सहभागिता रहेको थियो। कृषि उद्यम केन्द्रमा गठित ६ वटा बिभिन्न उपसमितिका संयोजकहरुले आ–आफ्नो उपसमितिले हाँसिल गरेको प्रगति विवरण सहितको प्रतिवेदन प्रस्तुत गर्नु गरेका थिए ।
कृषि उद्यम केन्द्रका सभापति एवं बैठकका अध्यक्षता गदै डिबी बस्नेतले बैठकका एजेण्डा प्रस्तुत गर्दै बिभिन्न विषयहरु निर्णयका लागि प्रस्तुत गरे भने बैठकले आगामी बजेटमा सरकारलाई कृषि व्यवसाय प्रबद्र्धन गर्न आवश्यक कार्यक्रमका बारे सुझाव दिने,कृषि उद्यम केन्द्रलाई कृषि बस्तुमा आयात प्रतिस्थापन तथा निर्यात प्रबद्र्धन गर्ने गरि कार्यक्रम सचालन गर्ने र सोको लागि सरकारी तथा गैर सरकारी निकायहरुसँग मिलेर सहकार्य गर्ने विषयमा बैठक केन्द्रित रहेको थियो ।
कृषि उद्यम केन्द्रका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र कुमार जोशीले हालसम्म हाँसिल गरेको उपलव्धिहरु र भावी योजना बारे प्रस्तुतिकरण गर्नु भएको थियो । बैठकका अध्यक्षता गरेका सभापति डिबी बस्नेतले कृषिको व्यवसायीकरण र आधुनिकीकरणलाई जोड दिने सोचका साथ सरकारलाई आवश्यक नीति नियम निर्माण र संशोधनको लागी अनुरोध गर्नुका साथै विभिन्न दाताहरुको सहकार्यबाट आयातलाई प्रतिस्थापन गर्ने कार्यक्रमहरुमा कृषि उद्यम केन्द्रको ध्यान गएको बताउनु हुँदै विदेशबाट आयातितभन्दा स्थानीय उत्पादनलाई ब्रान्डिग गर्नु पर्ने, स्थानीय उत्पादनमा जोड दिई स्थापना भएका कोल्ड स्टोरहरुलाई पूर्ण रुपमा संचालन गरी भण्डारण गर्न सके विदेशबाट आयात घट्न गई स्वदेशी उत्पादनको प्रवद्र्धन हुने भएकोले सो तर्फ सरकार तथा सम्बन्धित सरोकारवालाहरु लाग्नु पर्ने बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रतिनिधी डा.प्रधुम्नराज पाण्डेले कृषि उद्यम केन्द्र नीजि क्षेत्रको सशक्त निकाय भएकोले कृषि क्षेत्रको विकासको लागी प्रभावकारी भूमिका खेलीरहेको चर्चा गर्दै मन्त्रालय सहकार्य गर्न तयार रहेको, खाली जग्गालाई उत्पादनमा जोड दिनु पर्ने, समस्या मात्र होइन समाधानमा पनि लागि हरेक कुरामा निरन्तरता दिनु पर्ने कुरा बताए ।
उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका प्रतिनिधी चित्रा कुमारी कठायतले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै कृषिमा के गर्दा राम्रो हुन्छ भन्ने सुझावको अपेक्षां राखेको बताइन भने हाल स्टार्टअप उद्यम कर्जाका लागी आव्हान गरिएको प्रस्तावको बारेमा सरोकारवालाहरुलाई जानकारी गराउन सकेको खण्डमा सही प्रस्ताव प्राप्त गर्न सहयोग पुग्ने कुरा पनि बताइन् ।
बैठकले कृषि व्यवसायसँग सरोकार रहेका बिभिन्न नीतिगत विषयहरु जस्तैः बिद्युत महशुलमा अनुदान, भन्सार छुट, कर, बैकिङ्ग, विमा, कोल्ड स्टोर आदिको विषयमा व्यापक छलफल गरिएको थियो । कृषि उद्यम केन्द्रका सहसभापति राज कुमार कार्कीले बैठकको समापन गर्नु हुँदै अन्तरमन्त्रालय बीच समन्वय र सहकार्य नभएको कारण व्यवसायीहरुले अनावश्यक झन्झट खेप्नु पर्ने, यसले गर्दा उद्योग लगाउने उद्योगी निरास भई बाध्य भएर बिदेश पलायन हुने गरेको र विदेश निर्यातमा कठिनाई भएकोले त्यस तर्फ सम्बन्धित निकायले ध्यान दिन सकेको खण्डमा निर्यात गर्न सहज हुने बताउने कुरा बताए ।
प्रतिक्रिया