ई. पि.एस. उत्तीर्ण भएका नेपालीलाई चाँडो कोरिया काममा पठाउने वातावरण बनाउन श्रममन्त्रीको आग्रह

२०८१ पुस २५ गते

ई. पि.एस. उत्तीर्ण भएका नेपालीलाई चाँडो कोरिया काममा पठाउने वातावरण बनाउन श्रममन्त्रीको आग्रह

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाली राजदुत थी पार्क टी योङ्गले शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा नेपाल र दक्षिण कोरियाचीच भएको श्रम सम्झौताका विभिन्न पक्षहरूबारे गहन छलफल भए‌को थियो। विशेषतः ई. पि.एस प्रणाली अन्तर्गतको सम्झौतालाई पुनरावलोकन गरी नवीकरण गर्ने, सीपयुक्त कामदारलाई दक्षिण कोरिया पठाउने सम्बन्धी कार्यविधि, ई. पि.एस. उत्तीर्ण भई रोष्टरमा रहेका नेपाली कामदारलाई शीघ्र रोजगारमा पठाउने, शिष बिल्डिंग, लगायतका क्षेत्रमा छनौट भएका कामदारका मागहरु सम्बोधन गर्ने, कोरिया जान सबै चरण पुरा गरी उडानका लागि पर्खाईमा रहेका नेपाली कामदारहरुलाई छिटो, सरल र सहज ढंगबाट दक्षिण कोरिया पठाउन थप सहजीकरण गर्नुपर्ने विषयमा छलफल भयो।

भेटघाटका क्रममा मन्त्री भण्डारीले दक्षिण कोरिया जानका लागि परीक्षा उत्तीर्ण गरी रोष्टरमा रहेका सबै नेपालीलाई पठाउन र आगामी दिनमा कामदारको माग सख्या बढाउनका लागि पहल गर्नुपर्नेमा जोड दिए । कोरिया भाषा परीक्षा उत्तीर्ण गरेका, तयारीमा रहेका, बिगतमा रोष्टरमा नाम परेका तर कोरिया जान नपाएका व्यक्तिहरु समेतलाई लक्षित गरी आगामी दिनमा विशेष व्यवस्था गर्नुपर्ने र सो कार्यका लागि सीप विकासमा कोरिया सरकारले सहयोग गर्नुपर्ने बताए। भेटका क्रममा नेपालका लागि दक्षिण कोरियाका राजदुतले नेपाली कामदारहरुको उच्च कदर गर्दै नेपालबाट निरन्तर रुपमा कामदार लैजाने, रोष्टरमा नाम समावेश भएका व्यक्तिलाई उच्च प्राथमिकताका साथ रोजगारमा लैजान पहल गर्ने र थप नेपाली कामदार लैजाने विषयमा आफु सकारात्मक रहेको प्रतिक्रिया दिए ।

Advertisement:

Ad
Ad

नेपाली कामदारका लागि दक्षिण कोरिया उत्कृष्ट गन्तव्य रहेको र आगामी दिनमा सीपयुक्त कामदार पठाउन सकिने समेत सम्भावना भएको हुँदा दुबै पक्ष सीप विकास कार्यमा सहकार्यका लागि प्रतिवद्धता व्यक्त गरे।