"घटेको शेयर बजार लगानीकर्ताका लागि राम्रो अवसर, यो हो शेयर किन्ने उचित समय"

२०८१ असोज ०४ गते

"घटेको शेयर बजार लगानीकर्ताका लागि राम्रो अवसर, यो हो शेयर किन्ने उचित समय"

काठमाडौँ । सेयर बजार निरन्तर ओरालो यात्रामा छ । भदौ १ देखि असोज ४ गतेसम्म २० दिन सेयर कारोबार भयो । २० मध्ये १४ दिनको कारोबारमा बजार घटेको नेपाल स्टक एक्सचेन्जको तथ्यांकले देखाउँछ ।

यो अवधिमा बजार बढ्नेभन्दा घट्ने दिन बढी देखिन्छ । नेप्से इन्डेक्समात्र होइन, कारोबार रकमले पनि साथ छोड्दै गएको देखिन्छ ।

Advertisement:

Ad
Ad

बजारको कारोबार रकम ५ अर्बमा झरिसकेको छ । बजारमा बुल प्रवेश गरेसँगै १६.३० प्रतिशतले बजार घटेको छ । सामान्यतया बजार २० प्रतिशतभन्दा बढीले बढ्यो भने त्यहाँबाट बुल रन शुरु भएको मानिन्छ । त्यस्तै २० प्रतिशतभन्दा कम भयो भने बियर चक्र शुरु भएको मानिन्छ ।

यस आधारमा बजार बुल रनबाट निकै तल झरेको छ, तर प्राविधिक विश्लेषकहरु यो घटाइलाई बुल रनभित्रको करेक्सन भएको बताउँछन् । सेयर बजारका प्राविधिक विश्लेषक सुवासचन्द्र ढुंगानाले बजार २५०० र २५५० को बीचमा रहेर केही प्रक्रिया दिन खोजिरहेको बताए ।

अहिलेको बजारको अवस्थाले बुलभित्रको करेक्सन अन्त्यतिर आइसकेको देखाउँछ ।

‘बजार अब केही समय साइडवेजमा रहने प्राविधिक चार्टले देखाउँछ । बुलभित्र ठूलो करेक्सन पनि आउनसक्छ । चार्टहरुले बजार करेक्सनको अन्ततिर देखाए पनि कम्फरमेसन गरेको छैन’, ढुंगाना भन्छन्, ‘२५०० देखि २५५० सम्मको लेभलमा बजारले केही प्रतिक्रिया दिन खोजेको छ । केही समय साइडवेजमा बसेर मार्केट फर्किन्छ भन्ने देखिन्छ । त्यसपछि बजार २८६० माथि लाग्यो भने करेक्सन सकियो भन्ने बुझिन्छ ।’

करेक्सन सकिएपछि बजार फर्किंदा १० अर्बको हाराहारीसम्म लगातार ३/४ दिनसम्म कारोबार भयो भने बजारले बल्ल पिकअप लिने उनको भनाइ छ ।

अहिलेकै जसरी बजार घट्यो भने बजार निकै तल जानसक्छ, तर त्यसरी नघट्ने देखिन्छ । यद्यपि कारोबार रकममा भने ड्राइनेस छ । बजार २५०० देखि २८०० को बीचमा केही समय खेल्ने पनि देखिएको छ ।

बजारको इडेक्समात्र होइन, कारोबार रकम पनि ६ अर्बबाट ८ अर्ब र त्यसबाट बढ्दै १० अर्ब हुँदै कारोबार रकम क्रमशः बढ्दै गएको अवस्थामा बजार फर्किने ढुंगाना बताउँछन् ।

कोरोनाकालमा पनि बजार ५० प्रतिशत बढेर ३० प्रतिशत करेक्सन आएको थियो, तर बजारको बुल यात्रा सकिएको थिएन । बजार २०–२५ प्रतिशतभन्दा माथि लाग्छ भने बजार बुलभित्रैको करेक्सन भएको मानिने विश्लेषकहरु बताउँछन् ।

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल बजार जसरी करेक्सन नआइकन बढेको थियो, त्यसरी नै घटेको बताउँछन् । बजार घट्नुको एउटा कारण करेक्सन नभई बढेको बजार पनि भएको उनले बताए । उनले भने, ‘बजारमा करेक्सन आउनु स्वाभाविक हो । बजार २८०० पुग्नेबित्तिकै नाफा खान आत्तिएर कतिपय लगानीकर्ताले सेयर बेचे । त्यसबीचमा सत्ता परिवतर्नका कुराहरु पनि आए । यसले बजार घटेको हो । करेक्सन लगभग सकिने अवस्थामा छ ।’

नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । सोही लाभांश खाएर भए पनि सेयर भएका लगानीकर्ताहरु अब पर्ख र हेरको अवस्था बस्नुपर्ने उनको सुझाव छ ।

नयाँ लगानीकर्ताका लागि सेयर खरिद गर्ने उचित समय

बजार उच्चतम विन्दुबाट ४२४.०५ विन्दुले घटिसकेको छ । यो पटक बजारको उच्चतम विन्दु ३०००.८१ (साउन ३१ मा) थियो । त्यसपछि बजार घट्दै गएर २५७६.७६ (असोज २ मा) विन्दुमा आइपुगेको छ । बजार यति धेरै घट्दा सेयर बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताका लागि भने सही समय भएको विश्लेषकहरु बताउँछन् ।

विश्लेषक ढुंगानाले सेयरमा लगानी गरेका लगानीकर्ताकहरुले लाभांश खाने र नयाँ लगानीकर्ताले राम्रा कम्पनी हेरेर सेयर खरिद गर्ने बेला भएको बताए ।

बजार बुल यात्रामा पुगेपछि कहिले बजार घट्ला र सेयर किनुला भनेर बसेका लगानीकर्तामा लागि भने अहिले सही समय भएको तुलसीराम ढकाल बताउँछन् ।

बजारको उच्चतम बिन्दुबाट हालसम्म आइपुग्दा सेयर बजारको पुँजीकरण ६ खर्ब ६८ अर्ब ६५ करोड रुपैयाँले घटिसकेको छ । यो भनेको लगानीकर्ताको फोर्टफोलियो ६ खर्ब ६८ अर्बले घटेको हो ।