एअरपोर्टका श्रमिकको गुनासो-'उड्ययन प्राधिकरणका डिजीले उल्टै तलब घटाइदिने धम्की दिए'

२०८१ वैशाख २५ गते

एअरपोर्टका श्रमिकको गुनासो-'उड्ययन प्राधिकरणका डिजीले उल्टै तलब घटाइदिने धम्की दिए'

काठमाडौँ । हवाई क्षेत्रमा काम गर्ने श्रमिकहरुले असमान ज्याला विरुद्ध गुनासो गर्दा माथिल्लो तहका अधिकारीबाट उल्टै धम्की खेपेको बताएका छन् । सोमबार हवाई क्षेत्रमा कार्यरत श्रमिकहरुको छाता संस्था युनिट्राभले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रमिकहरुले नागरिक उड्ययन प्राधिकरण र नेपाल एअरलाइन्स मातहत एउटै कार्यथलोमा काम गर्ने श्रमिक एवम् कर्मचारीबीच तलब,भत्तादेखि सेवा सुविधामा ठुलो विभेद गरिएपछि सोबारे गुनासो राख्दा नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले तलब घटाइदिने धम्की दिएको बताएका हुन् ।

विमानस्थलमा सरसफाइ गर्ने,माली काम गर्ने,ट्रली ओसारपसार गर्नेदेखि ग्राउण्ड ह्याण्डलिङसम्ममा विभिन्न श्रमिकहरु छन् । सरसफाइमा काम गरिरहेकी एक श्रमिक महिलाले बताए अनुसार उनिहरु मध्ये कतिपयको तलब १६ हजार मात्र छ जबकि राज्यलेनै श्रमिकको न्यूनतम् पारिश्रमिक १७हजार ३सय कायम गरेको छ । ४ वर्षदेखि उनिहरु तलब बृद्धिको माग गरिरहेका छन् । यस विषयमा नागरिक उड्ययन प्राधिकरणमा ध्यानाकर्षण गराउँदा क्यानका डीजी प्रदीप अधिकारीले श्रमिकहरुलाई दिएएको अहिलेको १६ हजार पारिश्रमिकनै बढी भएको घटाएर १० हजार बनाउँदा ठिक हुने जवाफ दिने गरेको ती श्रमिक महिलाले दुखेसो पोखिन्।

Advertisement:

Ad
Ad

यसैबीच श्रमिकका समस्यालाई केन्द्रित गर्दै नेपाल ट्रेकिङ,ट्राभल्स्,र्याफ्टिङ एअरलाइन्स् श्रमिक युनियन (युनिट्राभ)ले सोमबार पत्रकार सम्मेलन गर्दै श्रमिकमाथि भएको विभेद विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । नेपाल सरकार अन्तर्गत रहेका नागरिक उड्ययन प्राधिकरण र नेपाल एअरलाइन्स मातहत एउटै कार्यथलोमा काम गर्ने श्रमिक एवम् कर्मचारीबीच तलब,भत्तादेखि सेवा सुविधामा ठुलो विभेद गरिएपछि श्रमिकहरु आक्रोशित बनेको युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए ।

‘निगम अन्तरगत नेपाल वायु सेवा निगमबाटै पारिश्रमिक लिने ट्रान्सपोर्ट ग्राउन्ड ह्यान्डलिङदेखि कार्यालयमा ६ वर्षदेखि २८ वर्षसम्म कन्ट्रयाक्ट, क्याजुअल, ज्यालादारी, करारमा कार्यरत करिब ६०० जना श्रमिकको उपदान, संचयकोष, अरु कर्मचारी सरहको सेवा, सुबिधा दिइएको छैन,’ पराजुलीले भने ।, ‘कति श्रमिकको जागिरको क्रममा निधन भइसकेपनि ती निधन भएका परिवारका सदस्यले आफ्ना निधन भएका व्यक्तिको संचयकोष, उपदानबापतको केही नपाउने र व्यवस्थापनले थाहा नपाएको भन्दै श्रमिकमाथि शोषण गरिरहेको छ ।’'आउटसोर्सिङबाट नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगममा कार्यरत कर्मचारीलाई निकै शोषण भएको छ ,पटकपटक ध्यानाकर्षण गराएपनि समस्या हल भएन, यदी व्यवस्थापनले यसरीनै पेलेर जाने सोच बनाएको छ भने हामी श्रमिकहरु चुप लागेर बस्दैनौँ ।' उनले भने ।

त्यसैगरी श्रमिकहरुलाई नागरिक उड्ययन प्राधिकरणले मात्र होइन एयर इन्डिया टाटा र नेपाल एअरलाइन्सले पनि शोषण गर्दै आएको छ । यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले श्रम ऐन विपरित श्रमिकहरूले मे दिवसजस्तो श्रमिकको चाड, महिला दिवसदेखि सिपमूलक कार्यक्रममा सहभागी हुन जाँदा उल्टै तलब, भत्ता काट्ने र श्रमिकलाई शोषण गर्ने कार्य भइरहेको भन्दै यस विरुद्ध श्रमिकहरुको ठूलो असन्तुष्टि रहेको बताए । उनका अनुसार माथिल्लो तहमा कार्यरत कर्मचारीले ब्यवस्थापकलाई राइट ह्यान्डको रुपमा सहजता पुर्याउन यलो युनियन बनाएर आफू अनुकुल प्रमोशन, ज्याला वृद्धि गर्ने गरेको छ । यूनिट्राभले हवाई क्षेत्रमा कार्यरत श्रमिकका समस्या तत्काल सम्बोधन नगराइए त्यसको कडा रुपमा प्रतिरोधमा उत्रने चेतावनी दिएको छ ।

नेपाल ट्रेड युनियन महासंघ जीफन्टका महासचिव लक्ष्मण शर्माले श्रमिकका समस्यामाथि नजरअन्दाज गर्दै सम्वन्धित निकायले हल खोज्ने प्रयास नगरे कानुन कार्यान्वयन गरान बाध्य हुने र अदालतको ढोकासम्म पुग्ने चेतावनी दिए ।