चेक बाउन्स गर्नेका कारण कालो सूचिमा पर्नेको संख्या अस्वभाविक रुपले बढ्यो

२०८२ वैशाख ०४ गते

चेक बाउन्स गर्नेका कारण कालो सूचिमा पर्नेको संख्या अस्वभाविक रुपले बढ्यो

काठमाडौं । बिग्रँदो व्यावसायिक वातावरणका कारण कालोसूचीमा पर्ने ऋणीको संख्या दिन प्रतिदिन बढ्दो रहेको बर्जा सूचना केन्द्रको ग्राफले देखाएको छ । एक वर्षको अवधिमा कालोसूचीमा पर्ने ऋणीको संख्या झन्डै ३३ प्रतिशतले बढेको हो । मुलुकमा देखिएको आर्थिक मन्दीका कारण बिग्रिएको व्यावसायिक वातावरणले कालोसूचीमा पर्ने उद्योगी व्यवसायीको संख्या घट्नुको साटो झन् बढिरहेको छ ।

विभिन्न प्रतिकूल कारणले उद्यम-व्यवसायले कर्जा समयमा तिर्न नसक्ने र बैंकहरूले धितो लिलामी गर्ने प्रक्रिया सुरु गर्दा पनि कतिपय ऋणी तथा संस्था कालोसूचीमा पर्ने गरेका छन् । जसको प्रतिबिम्ब कर्जा सूचना केन्द्रमा देखिन्छ। कालोसूचीमा पर्नेमध्ये अधिकांश चेक बाउन्स घटनाका छन् । कालोसूचीमा पर्नेमध्ये ७० प्रतिशतभन्दा धेरै चेक बाउन्स रहेको छ । बाँकी ३० प्रतिशत भने कर्जा तिर्न नसक्ने ऋणी छन् ।

Advertisement:

Ad
Ad

कर्जा सूचना केन्द्रका अनुसार एक वर्षको अवधिमै ५४ हजारभन्दा बढी ऋणी कालोसूचीमा परेका छन् । केन्द्रका अनुसार एक वर्षको अवधिमा ५४ हजार ४३४ ऋणी कालोसूचीमा परेका हुन् ।

२०८१ चैत मसान्तसम्म एक लाख १० हजार ६२४ ऋणी केन्द्रको कालो सूचीमा रहेकोमा २०८१ चैत मसान्तसम्म आइपुग्दा त्यो संख्या बढेर एक लाख ६५ हजार ५८ पुगेको छ । पछिल्लो समय दैनिक २०० सम्म ऋणी कालोसूचीमा पर्ने गरेका छन् ।

कोभीड १९ को महामारीको निम्तिएको बिकराल आर्थिक संकटपछि कालोसूचीमा पर्नेको संख्या अत्यधिक बढिरहेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा २ हजार ५ सय ३७ जना कालोसूचीमा चालु आर्थिक वर्षको ९ महिनासम्म आइपुग्दा त्यो संख्या बढेर एक लाख ६५ हजार ५८ पुगेको छ । करिब ६ वर्षको अवधिमा नै कालोसूचीमा पर्ने संख्या ६४ गुणाले बढेको छ । जसले अवस्था एकदमै भयावह गरेको देखाउँछ ।

बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा र चेक बाउन्स हुँदा कालोसूचीमा पर्ने ऋणीको संख्या बढेको हो। अहिले व्यावसायिक क्षेत्र चलायमान छैन । व्यावसायिक गतिविधि अत्यन्तै कम भइरहेको छ । त्यसो हुँदा ऋणीहरूले ऋण तिर्न सकिरहेका छैनन् ।

कालोसूचीमा पर्नेको संख्या विस्तारै घट्दै जाने अपेक्षा गरिए पनि सोचेअनुरुप व्यावसायिक वातावरण नबन्दा ग्राफ भने निरन्तर ओरालो लगिरहेको छ ।