२०८३ जेठ १५ गते
काठमाडौं । सरकारले बजेट भाषणको विगतको परम्परालाई तोड्दै आफ्नै शैलीमा बजेट प्रस्तुत गरेको छ । बिशेषगरी ब्रिफकेशमा बजेट पुस्तिका राख्ने परम्परालाई तोड्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेपाली कागजको फाइलमा बजेट बक्तव्य बोकेर संसद छिरे ।
विगतमा अर्थमन्त्रीले चालु आवको बजेट पढ्नुअघि किताबमै विभिन्न सम्बोधनहरु समेट्ने गरेका थिए । तर यसपटक अर्थमन्त्रीले शुरुदेखि नै आगामी आवको बजेटमा भएको परिवर्तनको विषय समेटेर वाचन शुरु गरेका थिए । छोटो र बुझिने गरी मन्त्रालयगत भन्दा पनि क्षेत्र छुट्टिने गरी बजेट विनियोजन गरेको सरकारले ठुलो आकारको बजेट ल्याएको छ ।
राष्ट्रिय योजना आयोगबाट १८ खर्ब ९० अर्बको सिलिङ पाएको अर्थले त्यो भन्दा निकै माथि गएर बजेट सार्वजनिक गरेको हो । आगामी आर्थिक वर्षको बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ बराबरको रहेको छ ।
मुलुक अहिले बृहत् आर्थिक सुधारको निर्णायक मोडमा उभिएको र राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको उनले बजेटमार्फत उल्लेख गरेका छन् । अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख रहेको बताउँने अर्थमन्त्रीले बजेटमार्फत नीतिगत सुधारको लक्ष्य लिएको देखिएको छ ।
अनावश्य करका भारहरुलाई कम गरी करका दरहरुमा व्यापक हेरफेर भएको छ । सरकारी कर्मचारी रिझाउने गरी तलबमा समेत २१ प्रतिशतले बृद्धि भएको छ । सुचना प्रविधिमा प्रोत्साहन गर्ने गरी बजेट बिनियोजन भएको छ । यसैगरी नीजि क्षेत्रमैत्री हुने गरी उद्यारो असुली कानुनको व्यवस्था गर्ने पनि बजेटले उल्लेख गरेको छ । विदेशीले लगानी फिर्ता लैजाने व्यवस्थालाई सरल र सहज बनाउँने भनिएको छ भने सामाजिक सुरक्षाको बढ्दो भारलाई कम गर्न सक्नेले छोड्ने र नसक्नेलाई जोड्ने अभियान चलाउने भएको छ ।
कुल विनियोजन मध्ये चालु तर्फ १२७० अर्ब ५८ करोड अर्थात कुल विनियोजनको ५९.८ प्रतिशत, पुँजीगत तर्फ ४३१ अर्ब १० करोड अर्थात २०.३प्रतिशत, वित्तीय व्यवस्था तर्फ अर्ब ४२२ अर्ब ६४ करोड अर्थात १९.९ प्रतिशत रहेको छ। यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा२५.२ प्रतिशतले बढी हो।
यो आकारको बजेटलाई खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १४०५ अर्ब ३१ करोड र वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड व्यहोर्दा ६५७ अर्ब २९ करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २४७ अर्ब २८ करोड परिचालन गर्ने भनिएको छ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने ४१० अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौँ। आगामी आर्थिक वर्ष २४५ अर्ब ८९ करोड आन्तरिक ऋणको साँवा भुक्तानी हुने हुँदा खुद १६४ अर्ब ११ करोड मात्र आन्तरिक ऋण परिचालन हुनेछ।
प्रतिक्रिया