२०८१ चैत १९ गते
काठमाडौ। सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारत सरकारको भारतीय दूतावासबीच नेपालका विभिन्न स्थानीय तहलाई सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।मंगलवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुलीले संचारकर्मीहरुसँग कुरा गर्दै १० वटा स्थानीय तहहरुसँग त्रिपक्षीय सम्झौता भएको बताएका हुन् ।
उनले भने,‘नेपाल सरकार र भारत सरकारबीच वभिन्न स्थानीय तहका शिक्षा, स्वास्थ्य लगायतका विभिन्न प्रोजेक्टहरुको सम्झौता पत्रमा हस्ताक्षर गरेका छौं । १० ओटा स्थानीय तहहरुसँग त्रिपक्षीय सम्झौता भएको छ । म भारत सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’उनले यो सम्झौता अनुसार स्थानीय तहहरुबाट आयोजनाको माग गरी परियोजना तयार गरी अर्थ मन्त्रालयको तर्फबाट भारतीय दूतावासले स्वीकृती प्राप्त भएपछि परियोजनाहरु सुरु हुने बताए ।
‘नेपाल र भारत सरकारबीचको सहयोग सम्झौता अनुसार स्थानीय तहहरुबाट आयोजनाको माग गरी विस्तृत परियोजना तयार गरी अर्थमन्त्रालयको तर्फबाट भारतीय दुतावासले स्वीकृत गरेपछि परियोजना सुरु हुन्छ । निरन्तर सहयोग हुने कार्यक्रम हो,’ उनले भने ।
उनले एउटा आयोजनाको हकमा अधिकतम २० करोडसम्म सहयोग हुने भन्दै विद्यालयको भवन निर्माण, स्वास्थ्य चौकी निर्माण जस्ता विषयमा सम्झौता भएको जानकारी दिए ।
प्रतिक्रिया