२०८० चैत १५ गते
काठमाडौं । भारतको पुँजी बजार नियामक ‘सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)’ ले आज बिहीबार(मार्च २८) देखि सेयर खरिदबिक्री गरेकै दिन राफसाफ हुने ‘टि प्लस जिरो’ प्रणाली सुरु गरेको छ । सेबीको मार्च १५ मा बसेको बैठकले ‘टि प्लस जिरो’ सेटलमेन्ट प्रणालीको बीटा संस्करण (भर्सन) लाई वैकल्पिक रुपमा सुरु गर्न अनुमोदन गरेको थियो ।
सेबीले बिहीबारदेखि सेयर कारोबारको राफसाफमा ‘टि प्लस जिरो’ सेटलमेन्ट साइकललाई विकल्पको रुपमा प्रयोग गर्नसक्ने बताएको छ । सरोकारवालाहरुको प्रतिक्रियालाई ध्यानमा राख्दै सेबीले २५ वटा सीमित सेयरमा र सीमित धितोपत्र दलालहरुमार्फत मात्रै ‘टि प्लस जिरो’ को बीटा संस्करणको सुरुवात गरेको छ । सेयर खरिद बिक्री गरेकै दिन सेटलमेन्ट हुने यो साइकललाई अनिवार्य भने गरिएको छैन । यससँगै सेबीले बीटा संस्करणका प्रयोगकर्ताहरु सहित थप सरोकारवालाहरुसँग परामर्श गर्न जारी राख्ने जनाएको छ ।
बीटा भर्सन वैकल्पिक रुपमा कार्यान्वयनमा आएको मिति अर्थात मार्च २८ बाट ३ महिना र ६ महिनाको अन्त्यमा प्रगति समीक्षा गर्नेछ र थप कारबाहीका लागि निर्णय गर्ने सेबीको भनाई छ । भारतीय सेयर बजारमा अहिलेसम्म ‘टि प्लस वान’ सेटलमेन्ट साइकल लागू भइरहेको छ ।सेबीले टि प्लस वान कारोबार राफसाफ अवधि सन् २०२१ मा सार्वजनिक गरेको थियो । यस साइकल विभिन्न चरणमा लागू गरिएको थियो । अन्तिम चरण सन् २०२३ को जनवरी मा पूरा भएको थियो । ‘टि प्लस जिरो’ साइकल अब ‘टि प्लस वान’ सँगै विकल्पको रुपमा प्रयोग हुनेछ ।
प्रतिक्रिया