चीनमाथि १४५ प्रतिशतसम्म कर लगाउने निर्णय गरेको तीन दिन बित्न नपाउँदै पछि हट्यो ट्रम्प प्रशासन

२०८१ चैत ३१ गते

चीनमाथि १४५ प्रतिशतसम्म कर लगाउने निर्णय गरेको तीन दिन बित्न नपाउँदै पछि हट्यो ट्रम्प प्रशासन

काठमाडौँ । चीनमाथि १४५ प्रतिशतसम्म पारस्परिक भन्सार शुल्क लागू गरेको तीन दिन पनि नबित्दै ट्रम्प प्रशासनले निर्णय परिवर्तन गरेको छ । शुक्रबार अबेर पोस्ट गरिएको अमेरिकी भन्सार तथा सीमा सुरक्षा सूचना अनुसार अमेरिकामा आयात गरिने इलेक्ट्रोनिक्स सामानहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पारस्परिक करबाट छुट दिइने बताइएको हो । यसरी छुट दिइएका बस्तुहरुमा स्मार्टफोन, कम्प्युटर मनिटर र विभिन्न इलेक्ट्रोनिक पार्टपुर्जा रहेका छन् ।

ट्रम्प प्रशासनले बुधबार संयुक्त राज्य अमेरिकामा आयात हुने चिनियाँ सामानहरूमा १४५प्रतिशत को न्यूनतम भन्सार दर लगाएपछि यो छुटको निर्णय शुक्रबार गरिएको हो । भन्सार छुटले एप्पल जस्ता प्रविधीजन्य उद्योगमा ठूलो प्रभाव पार्ने बताइएको छ, जसले चीनमा आईफोन र अन्य उत्पादनहरू बनाउँछन्।एप्पलको आइफोनको ९० प्रतिशत एसेम्बलीको सामान चीनमा निर्माण हुने गरेको छ ।

Advertisement:

Ad
Ad

यदी अमेरिकाले पारस्परिक कर नीति पुनरावलोकन नगर्ने हो भने एप्पलको आइफोन हालको दोब्बर मूल्य पर्ने अनुमान गरिएको थियो ।

ट्रम्पको चीनमाथि कर हटाउने नयाँ नीतिलाई राहतको रुपमा लिइएको छ । एअर फोर्स वानसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, धेरैजसो ग्याजेटहरू चीनमा बनेकाले अमेरिकी प्रविधि कम्पनीहरूले ग्याजेटहरूको मूल्य आकाशिन सक्छ भन्ने चिन्ता व्यक्त गरेपछि यो कदम चालिएको हो।

यो निर्णयले एप्पल, एनभिडिया, माइक्रोसफ्ट जस्ता ठूला प्राविधिक फर्महरू र व्यापक प्राविधिक उद्योगले यस सप्ताहन्तमा ठूलो राहतको सास फेर्न सक्ने बताइएको छ ।