२०८१ मंसिर ०३ गते
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले राजश्व नीति र कर प्रणालीबारे वृहत अन्तरक्रिया गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा आन्तरिक राजश्व विभाग, निजी क्षेत्रका प्रतिनिधी लगायत सरोकारवाला निकायलाई बोलाएर चेम्बरले कर प्रणालीमा देखिएका चुनौती र सम्वोधन गर्नुपर्ने विषयबारे वृहत अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको कर प्रणालीलाई लगानीसंग जोड्नुपर्ने उल्लेख गरे । उनले भने, ‘कर प्रशासन र कर नीति सहज र सरल भयो भने लगानीमैत्री वातावरण बन्छ, लगानी वृद्धि भएर निजी क्षेत्रले नाफा कमाए मात्रै कर वृद्धि गर्न सकिन्छ। ’ मुलुकमा पुजी निर्माण भएर रोजगारी सिर्जना, उत्पादनवृद्धि हुनेगरी सरल र सहज नीति बनाउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । अध्यक्ष अग्रवालले भने, ‘कृषकलाई खेती उब्जनीमा जसरी मल बिऊको आवश्यक्ता पर्दछ , त्यसैगरी निजी क्षेत्रलाई सरल र स्थिर नीति चाहिन्छ, । ’ अर्थतन्त्रमा झण्डै ८१ प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई सहजीकरण र स्थिर नीतिगत व्यवस्था गरे दिगो अर्थतन्त्रको विकास र राजश्व संकलनको लक्ष्य पुरा गर्न समस्या नहुने अग्रवालको भनाई छ । अग्रवालले भन्सारमा कारोबार मुल्यलाई मान्यता दिएर सन्र्दभ मुल्यलाई खारेज गर्नुपर्ने बताए । नक्कली भ्याट बीलमा संलग्नलाई कारवाही गर्नुपर्ने तर छानविनका नाममा असल व्यापारीलाई दुःख दिन नमिल्ने अग्रवालले भने । सो कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले कर प्रणालीलाई लगानीसंग जोड्न सरकारले पनि काम गरिरहेको उल्लेख गरे । मुलुकमा लगानीको वातावरण छैन भन्ने भाष्यलाई चिर्नुपर्ने महानिर्देशक आचार्यको भनाई छ । उनले भने, ‘लक्ष्य अनुसारको उपलव्धी हासिल गर्न नसकिएपनि अर्थतन्त्र अहिले ठिक ठाउ“मा रहेको छ । राजश्व प्रणाली र सरकारको खर्च प्रणालीमा सुधार हुुदै आएको छ, ।’ महानिर्देशक आचार्यले नक्कली भ्याट बील बिजकको समस्या समाधान गर्नेगरी प्रयास भईरहेको बताए । कार्यक्रममा सहभागीहरुले वर्तमान कर प्रणालीबाट साना व्यापारीहरु सवैभन्दा बढी मर्कामा परेको गुनासो गरेका थिए ।
प्रतिक्रिया