विद्युत सटबाट ३५ लाखको क्षति, नेपाल डेरी एसोसिएसन पाँचथरद्वारा १ लाख ३० हजार सहयोग हस्तान्तरण

२०८२ फागुन ०४ गते

विद्युत सटबाट ३५ लाखको क्षति, नेपाल डेरी एसोसिएसन पाँचथरद्वारा १ लाख ३० हजार सहयोग हस्तान्तरण

पाँचथर । पाँचथर.मिक्लाजुङ गाउँपालिका–३ नागी निवासी नेपाल डेरी एसोसिएसनका सदस्य लाङ्गाली डेरी उद्योग सञ्चालन गर्दै आएका भिमबहादुर मगरको घरमा केही दिनअघि विद्युत सट भई ठूलो आगलागी हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ। आगलागीबाट दुई वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने घिउ, छुर्पी, नगद तथा अन्य सामान जलेर नष्ट भएको जानकारी नेपाल डेरी एसोसिएसन कोशी प्रदेश अध्यक्ष गंगा बहादुर खड्काले जानकारी गराए ।

 

Advertisement:

Ad
Ad

घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल डेरी एसोसिएसन पाँचथरको अगुवाइमा जिल्लाभित्रका विभिन्न डेरी उद्योग तथा व्यवसायीहरूबाट सहयोग संकलन गरिएको थियो। संकलित रकममध्ये जम्मा रु १ लाख ३० हजार २३० रुपैयाँ नेपाल डेरी  एसोसिएसनका पाँचथर जिल्ला अध्यक्ष मनिस घिसिङको हातबाट पीडित परिवारलाई हस्तान्तरण गरिएको कुरा पाँचथर जिल्ला सचीव गोपाल रिजालले जानकारी गराए । 

सहयोग हस्तान्तरण बारे एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले संगठन सधैं आफ्ना सदस्यहरूको हित, संरक्षण र संकटका बेला साथ दिने उद्देश्यका साथ सक्रिय रहँदै आएको जानकारी दिए। उनले अप्ठ्यारो परिस्थितिमा एकअर्काको सहारा बन्नु नै संगठनको मुख्य दायित्व भएको उल्लेख गर्दै यसरी कठिन समयमा सहयोगमा जुट्ने जिल्ला समिति र सहयोग गर्ने सबै डेरी व्यवसायीलाई धन्यवाद दिंदै एसोसिएसनका सबै सदस्यलाई आउँदा दिनमा यसरी नै एक आपसमा सहयोग पुर्‍याउन अनुरोध गरे । 

 

त्यस्तै केन्द्रिय महासचिव हेमचन्द्र खनालले सदस्यहरूको हकहित र व्यवसायिक सुरक्षाका लागि एसोसिएसन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै सहयोग गर्ने सम्पूर्ण डेरी व्यवसायी तथा सहयोगदाताप्रति आभार व्यक्त गरे।

 

एसोसिएसनले पीडित परिवारलाई शीघ्र पुनर्स्थापनाका लागि आवश्यक साथ र सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ।