आगामी वर्ष नेपालको अर्थतन्त्रमा सुधार आउने एसियाली विकास बैंकको प्रक्षेपण

२०८१ चैत २७ गते

आगामी वर्ष नेपालको अर्थतन्त्रमा सुधार आउने एसियाली विकास बैंकको प्रक्षेपण

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२मा नेपालको अर्थतन्त्र ४.४प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । जुन आर्थिक वर्ष २०८०/८१ को अनुमानित ३.९ प्रतिशतभन्दा माथि रहने एसियाली विकास बैंक (एडिबी)को पछिल्ला प्रमुख प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक (एसियाली विकास परिदृश्य) ले जनाएको छ ।

“आन्तरिक माग क्रमशः लयमा फर्कनु, निजी क्षेत्रद्वारा अपेक्षित सुधारहरूको सम्बोधन, पर्यटनसम्बद्ध सेवाहरूको पुनरुत्थानले नेपालको आर्थिक वृद्धि प्रक्षेपणमा सुधारलाई गति दिने कारकहरू हुन्,”एसियाली विकास बैंकका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले भने, “गत आर्थिक वर्षमा संकुचित भएका प्रमुख आर्थिक क्षेत्रहरू, जस्तै, औद्योगिक उत्पादन, निर्माण क्षेत्रहरू पेट्रोलियम तथा कच्चा पदार्थको मूल्यमा स्थिरता, लगानीयोग्य पुँजीको उपलब्धताले चालु आर्थिक वर्षमा विस्तार हुनेछन् । साथै घट्दो ब्याजदरले सबै उत्पादनमूलक क्षेत्रहरूमा कर्जा विस्तारका लागि मार्ग प्रशस्त गरेको छ ।”

Advertisement:

Ad
Ad

कुल गार्हस्थ उत्पादनको वृद्धिदर आगामी आर्थिक वर्ष २०८२/८३ मा ५.१ प्रतिशत रहने प्रक्षेपण गरिएको छ, जुन सरकारले पुँजीगत बजेट कार्यान्वयनमा गर्ने सुधार, पर्यटन र यससँग सम्बन्धित सेवाहरूमा प्रगति तथा यान्त्रिकरण र उन्नत सिञ्चाई सुविधा तथा अनुकुल मनसुनमा निर्भर कृषि उत्पादकत्व वृद्धिबाट निर्देशित हुनेछ । चालु आर्थिक वर्ष २०८१/८२ मामुद्रास्फीतिमा कमी आउनेछ । मुद्रास्फीति केन्द्रीय बैंकले तोकेको सीमामा रहने अनुमान गरिएको छ ।कृषि उपज संकलन राम्रो रहने अनुमान र सबैभन्दा बढी आयात गरिने मुलुक भारतमा मुद्रास्फीति दरमा आएको गिरावटले मुद्रास्फीतिमा कमी आउने अनुमान गरिएको हो ।

उच्च विदेशी विनिमय सञ्चिति तथा विवेकशील मौद्रिक नीतिले नेपालको बाह्य क्षेत्रले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा स्थायित्व प्राप्त ग¥यो । चालु आर्थिक वर्षको पछिल्लो अर्ध वार्षिक अवधिमा उच्च आयातका बाबजुद विप्रेषण आप्रवाह सुदृढ रहँदा चालु खाता बचत कुल गार्हस्थ उत्पादनको ०.१ प्रतिशत रहने अपेक्षा गरिएको छ । तर आगामी आर्थिक वर्ष २०८२/८३ मा वस्तु र सेवाको आयात उच्च भएपछि चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको २.४ प्रतिशत बराबर रहने प्रक्षेपण छ ।

एसियाली विकास परिदृश्य (एसियन डेभलपमेन्ट आउटलुक) मा जोखिमहरूले अपेक्षित प्रतिफल प्राप्तिमा कठिनाई तर्फ संकेत गर्दछन् । भन्सार महशुल बढ्ने क्रम जारी रहेमा विश्वव्यापी आर्थिक मन्दी आउन सक्छ, जसले नेपालको पर्यटन आम्दानी र विप्रेषणलाई असर पु¥याउने सम्भावना रहन्छ । साथै, वैदेशिक सहयोगमा कमी आएमा विकास निर्माणका लागि विदेशी सहायतामा निर्भर नेपालको वृद्धिमा नकारात्मक असर पर्न सक्छ। पूँजीगत बजेट कार्यान्वयन कमजोर भएमा पनि वृद्धिको सम्भावनालाई बाधा पु¥याउनेछ ।

यी वृद्धिका पूर्वानुमानहरू अप्रिल २ मा अमेरिकी प्रशासनद्वारा नयाँ भन्सार महसुल घोषणा हुनु अगाडि तय गरिएको हो, त्यसैले आधारभूत पूर्वानुमानमा पहिलेदेखि कार्यान्वयनमा रहेको महसुलमात्रै समेटिएको छ। तथापि, एसियाली विकास परिदृश्य अप्रिल २०२५ ले एसिया र प्रशान्त क्षेत्रमा बढ्दो महसुलको सम्भावित असर सम्बन्धी विश्लेषण समेटेको छ ।

एडिबी एसिया तथा प्रशान्त क्षेत्रमा दिगो, समावेशी र उत्थानशील विकासका लागि सहयोग गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो । यसका सदस्य र साझेदारहरूसँग जटिल चुनौतीरू समाधानका लागि आपसमा काम गरिरहेको एडिबीले जनजीविकामा रूपान्तरण, गुणस्तरीय पूर्वाधार निर्माण र पृथ्वीलाई जोगाउनका लागि नवप्रवर्तित वित्तीय औजारहरू एवं रणनीतिक साझेदारीको उपयोग गर्दछ । सन् १९६६ मा स्थापनाभएको एडिबीमा ६९ सदस्यहरूको स्वामित्व रहेको छ र तीमध्ये ४९ एसिया तथा प्रशान्त क्षेत्रमा अवस्थित छन् ।