२०८१ मंसिर ०४ गते
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तलब तथा ज्याला सूचकांक गणनाको आधार वर्ष परिवर्तन गरेको छ । अअर्थतन्त्रमा आएको संरचनात्मक परिवर्तनसँगै रोजगारीको स्वरुपमा आएको फेरबदलसमेतलाई ध्यानमा राखी सूचकांक निर्माणमा प्रयोग हुने भारांकलाई अद्यावधिक गर्न नयाँ आधार वर्ष परिवर्तन गरिएको राष्ट्र बैंकले जनाएको छ । यसअघि आर्थिक वर्ष २०६१/६२ लाई आधार मान्दै आएको थियो । अब भने २०८०/८१ कायम भएको छ । तलब सुचकांकको गणना यसैलाई आधार मानेर हुनेछ ।
नेपाल राष्ट्र बैंकले तलब तथा ज्याला सूचकांक गणनाको आधारवर्ष परिवर्तन गर्दै मासिक रुपमा हुँदै आएको गणनालाई त्रैमासिक बनाएको हो । नयाँ सूचकाङ्क गणना गर्दा सबै प्रदेशका ३० वटा जिल्लास्थित बजार क्षेत्रमा रहेका सबै औद्योगिक क्षेत्र तथा पेसा समावेश हुनेगरी १ हजार २५ वटा संस्थाबाट ५ हजार २ सय ९६ प्रकारका पद सँग सम्बन्धित तथ्याङ्क सङ्कलन गरी सूचकाङ्क निर्माण गरिएको छ । यसअघिको सूचकाङ्क गणना गर्दा ११ वटा बजार केन्द्रबाट तलबको हकमा छ प्रकारका संस्था (निजामती सेवा, सार्वजनिक संस्था, बैंक तथा वित्तीय संस्था, सेना तथा प्रहरी, शैक्षिक संस्था र निजी संस्थाहरू) तथा ज्यालादरको हकमा तीन प्रकारका औद्योगिक वर्गको ज्यालादर (कृषि, उत्पादन र निर्माण क्षेत्र) गरी नौ वटा समूहअन्तर्गत तथ्याङ्क सङ्कलन गर्ने गरिएको थियो ।
तलब तथा ज्यालादर सूचकांक श्रमको मूल्य (तलब तथा ज्यालादर ) मा आएको परिवर्तन मापन गर्ने विधि हो । यो सूचक निर्माणका लागि राष्ट्रिय तथ्यांक कार्यालयको नेपाल जनशक्ति सर्वेक्षणलाई आधार बनाइएको छ । यसका लागि मोडिफाइड लास्प्रेयर्स विधि अपनाइएको राष्ट्र बैंकले जनाएको छ । यो सूचक निर्माणको पहिलो चरणमा प्रत्येक पेसाको तल्लो तहको सूचकांक निर्माण गरिएको छ । दोस्रो चरणमा उक्त सूचकांकलाई भारांकले गुणन गरी माथिल्लो तहमा प्रादेशिक, औद्योगिक, पेसागत र राष्ट्रिय सूचकांकको निर्माण गरिने उल्लेख गरिएको छ । नयाँ आधार वर्षमा आधारित सूचकांक औद्योगिक वर्गीकरण, पेसागत वर्गीकरण र प्रदेशगत वर्गीकरण गरी ३ वटा ढाँचामा रहेको छ ।
प्रतिक्रिया