२०८१ मंसिर २८ गते
काठमाडौं । अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले जग्गा तथा आवास राष्ट्र निर्माणको महत्त्वपूर्ण कडी रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारणसभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले जग्गा तथा आवास विकास महासंघले देशको समृद्धि हासिलमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउँदै कृषि उत्पादनका लागि जग्गाको वर्गीकरण गरेर उपयोग गर्नु पर्ने बताए । उनले जग्गाको सहि सदुपयोग गर्न नसके नेपालको जग्गा कङ्कृटको जंगलमा परिणत हुने बताए ।
अर्थमन्त्री पौडेलले रियल स्टेटको ब्रोकरलाई लाईसेन्स दिनुपर्ने जिकिर गर्दै ल्यान्ड पुलिङ गर्न पाउने अधिकार निजी क्षेत्रलाई पनि उपलब्ध गराउनु पर्ने दाबी गरे ।निर्माण क्षेत्रको ऐन छिटो ल्याउनु पर्ने भन्दै उनले भने, ‘अहिले हदबन्दीको कुरा धेरै उठिरहेको छ । यसले समाजलाई योगदान गरिसकेको छ । तर अहिलेको परिस्थितिमा हदबन्दीलाई हुबहु राख्ने हो भने यसले आजको समस्या समाधान गर्न सक्दैन ।’
हाल घर जग्गा कारोबारमा सँकुचन आएको उनको भनाइ छ । ‘कानुनी संगठन गरेर मुलुकको घर जग्गा कारोबारमा देखिएको सङ्कुचनलाई अन्त्य गर्नु पर्नेमा सरकार लागेको छ ।’ उनले थपे, ‘जग्गामा देखिएको समस्या समाधान गर्न तपाइँहरु मौन नबस्नु होस् । सरकारले जायज समस्या समाधान गर्छ । जग्गाको समस्या भनेको सरकार, मुलुकको पनि समस्या हो ।’
उनले अपार्टमेन्ट विदेशीहरूले किन्न पाउनु पर्छ भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्न जोड दिने बताए । उनले खानेपानी, ढल, तथा सिंचाईको साथ देशलाई व्यवस्थित तिर लैजाने पनि बताए ।
नेपाल जग्गा तथा आवास विकास महासंघ को तेस्रो महासभा आज शुक्रबार सम्पन्न भएको छ ।
प्रतिक्रिया