२०८२ माघ २३ गते
काठमाडौँ । आजभन्दा ठीक १५० वर्षअघि, अस्ट्रेलियाको भिक्टोरिया राज्यमा दुई जना साधारण खानी मजदुरको जीवन एकैदिनमा बदलियो। ५ फेब्रुअरी १८६९ मा उनीहरूले विश्वकै सबैभन्दा ठूलो सुनको डल्लो फेला पारे, जसलाई पछि ‘वेलकम स्ट्रेन्जर’ नाम दिइयो।
यो ऐतिहासिक सुनको डल्लो दुई जना कर्नवाल ९इङ्ल्यान्ड० का खानी मजदुर जोन डीसन र रिचर्ड ओट्सले भेटेका थिए। उनीहरू अस्ट्रेलियाको मोलियागुल क्षेत्रमा सुन खोज्दै थिए।
रूखको जरामा अड्किएको अवस्थामा भेटिएको थियो त्यो विशाल खजाना
वेलकम स्ट्रेन्जर जमिनको सतहभन्दा अलिकति तल, एउटा रूखको जरामा अड्किएको अवस्थामा भेटिएको थियो। यसको तौल करिब ७२ केजी ९११ स्टोन० र लम्बाइ ६१ सेमी थियो। डल्लो यति ठूलो थियो कि कोदालोले उठाउन खोज्दा कोदालोको बिँडनै भाँचिएको थियो। अन्ततः फलामे डण्डी प्रयोग गरेर मात्र डल्लोलाई बाहिर निकाल्न सकियो।
एकाएक बद्लिएको भाग्य
डल्लो भेटेपछि उनीहरूले यसलाई करिब २० किलोमिटर टाढा रहेको डनुली सहरमा लगे। त्यहाँ बैंकमा तौल गर्दा यसको मूल्य करिब १०,००० पाउण्ड तय भयो, जुन त्यो समयका लागि अकल्पनीय धन थियो।
स्थानीय मानिस तथा सरकारले पनि त्यति खेर मेहनती र इमानदार मानिसहरूकै हातमा यो खजाना परेकोमा खुसी व्यक्त गरेको थियो।
फोटोसमेत खिच्न नपाउँदै टुक्र्याइयो
दुर्भाग्यवश, डल्लो यति ठूलो थियो कि तौल नाप्ने तराजुमा अटेन। त्यसैले तत्कालै यसलाई टुक्र्याइयो। फोटो खिच्ने वा भिडियो बनाउने अवस्था पनि बनेन । पछि यसलाई देखेका मानिसहरूको सम्झनाका आधारमा चित्र बनाइयो। अहिले डनुली संग्रहालयमा यसको प्रतिकृति राखिएको छ।
सुन खोज्नेहरू अझै यहाँ आइरहन्छन्
वेलकम स्ट्रेन्जर भेटिएको मोलियागुल सहर १८५०–६० को दशकमा सुनखानीका कारण निकै फस्टाएको थियो। त्यतिबेला यहाँ ११ वटा पब थिए। आज भने यो सानो कृषिप्रधान गाउँ बनेको छ।
तर पनि सुन खोज्नेहरू अझै यहाँ आइरहन्छन्। स्थानीयहरू यसलाई ‘सुनको ज्वरो’ भन्छन् — सुन भेट्ने आशामा लाग्ने एक किसिमको लत।
सुन भेट्टाउनेका पाँचौ पुस्ताका सन्तानहरूका लागि गर्वको कथा
जोन डीसनकी सन्तान सुजी डीसन आज पनि सोही क्षेत्रमा बस्छिन्। उनी भन्छिन्, “मानिसहरूले मेरो नाम सुन्नासाथ सुन कहाँ छ भनेर सोध्छन्। तर हामी धनी छैनौँ, र त्यो सुनबाट बनेको गहना पनि छैन।”
आजको मूल्य करोडौँमा
यदि वेलकम स्ट्रेन्जर आज बिक्री भएको भए यसको मूल्य घ्२० लाखभन्दा बढी पर्न सक्ने अनुमान छ। तर पैसाभन्दा पनि यसको ऐतिहासिक महत्व झन् ठूलो छ।
१५० वर्ष पूरा भएको अवसरमा, सन् २०१९मा उक्त स्थानमा विशेष कार्यक्रम, नाटक र पुरानो फोटो पुनः सिर्जना गरेर यो अद्भुत इतिहासलाई सम्झिएको थियो।वेलकम स्ट्रेन्जर केवल सुनको डल्लो मात्र होइन, यो मेहनत, धैर्य र भाग्यले कहिलेकाहीँ साधारण मानिसलाई असाधारण बनाइदिने कथाको प्रतीक हो।
प्रतिक्रिया