२०८३ जेठ १३ गते
काठमाडौँ । श्रीलङ्का सरकारले नेपाली नागरिकहरूका लागि निःशुल्क पर्यटकीय भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन) उपलब्ध गराउने भएको छ।
काठमाडौँस्थित श्रीलङ्काली दूतावासले एक सूचना जारी गर्दै नेपालसहित ४० देशका नागरिकका लागि यो सुविधा लागु गरिएको जनाएको हो। नयाँ व्यवस्था अनुसार पर्यटकीय प्रयोजनका लागि श्रीलङ्का भ्रमण गर्ने नेपाली नागरिकले ३० दिनको डबल एन्ट्री पर्यटकीय भिसा पूर्ण रूपमा निःशुल्क पाउनेछन्।
यो नियम २५ मे २०२६ देखि नै कार्यान्वयनमा आइसकेको दूतावासले उल्लेख गरेको छ।
अनलाइनबाटै आवेदन दिन सकिने
श्रीलङ्का जान चाहने यात्रीहरूलाई त्यहाँ पुग्नु अगावै आधिकारिक वेबसाइट मार्फत वा काठमाडौँमा रहेको श्रीलङ्काली दूतावासमा सम्पर्क गरेर आफ्नो भिसा सुरक्षित गर्न सल्लाह दिइएको छ।
थप जानकारी वा सहायताका लागि आवश्यक परेमा काठमाडौँस्थित श्रीलङ्काली दूतावासको फोन नम्बरहरू ९८५१०४८६५३, ०१-४७२०६२३, ०१-४७२१३८९० मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ। श्रीलङ्का सरकारको यस कदमले दुई देशबीचको पर्यटन प्रवर्द्धन र जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिएको छ।
प्रतिक्रिया