२०८२ फागुन ३० गते
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता शेरबहादुर तामाङप्रति कडा कटाक्ष गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बास्कोटाले आफू तामाङजस्तो चरम अवसरवादी पात्र नभएको बताएका हुन् ।
उनले तामाङलाई आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन,पटक-पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्रको संज्ञा दिएका छन् । 'भन्न मन थिएन तर मेरो मत मैले राखेबापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी ममाथि सार्वजनिक रूपमा जाई लगेछन्,' बास्कोटाले लेखेका छन्, 'म तपाईंजस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन,पटक-पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन । ०३८ यताका ईतिहास हेरौँ न।'तर, बास्कोटाले तामाङ उनीमाथि के भनेर जाई लागेका हुन् भन्ने खुलाएका छैनन् ।
यसअघि शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले नेता तामाङले आफ्नो निर्वाचन क्षेत्रसमेत जोगाउन नसक्ने नेताहरूले अध्यक्ष केपी ओलीलाई दोष देखाएर उम्किन नमिल्ने बताएका थिए ।
प्रतिक्रिया