२०८२ चैत ०४ गते
काठमाडौं । नवनिर्वाचित सांसदहरुलाई चैत १२ गते सपथ खुवाउने गरी काम अघि बढेको छ । संघीय संसद सचिवालयका अनसार चैत १२ गते नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने तयारी भएको हो । भदौ २३ र २४ गतेको जेनजी विद्रोहका क्रममा साविकको संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र)आगजनी भएपछि सिंहदरबारमा बन्दै गरेको संसद् भवनमा काम तीव्र गतिमा अघि बढेको छ । स्रोतका अनुसार सोही भवनको मल्टिपर्पस हलमा २७५ जना सांसदको शपथको कार्यक्रम हुनेछ ।
सुरुमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्रतिनिधिसभा सदस्यको शपथ लिनेछन्, त्यसपछि उनले बाँकी नवनिर्वाचित सांसदहरूलाई शपथ दिलाउने छन् । ७८ वर्षीय नेपाली कांग्रेसका सांसद केसी नवनिर्वाचित सांसदहरूमध्ये सबैभन्दा ज्येष्ठ हुन् । संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुखको निर्वाचन नै नभएको वा दुवै पद रिक्त रहेको अवस्थामा सभाको अध्यक्षता ज्येष्ठ सांसदले गर्नुपर्नेछ भन्ने व्यवस्था छ ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सकिएसँगै निर्वाचन आयोगले प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने ११० जना सदस्यहरूको नामावली सार्वजनिक गरिसकेको छ ।
प्रतिक्रिया