२०८२ पुस २० गते
काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ।
उनीहरूबीच ललितपुरको च्यासलस्थित एक घरमा आइतबार बिहान एक्लाएक्लै भेटवार्ता भएको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए। आजै साँझ भारतको नयाँ दिल्ली जान लागेका संयोजक प्रचण्डले त्यसअघि अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्।
उनीहरूबीच २५ मिनेट एक्लाएक्लै कुराकानी भएको आचार्यले बताए।पछिल्लो राजनीतिक परिस्थितिपछि संयोजक प्रचण्डले विभिन्न राजनीतिक दलका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्दै आएका छन्।
‘दुई नेताबीच चुनावको वातावरण बनाउने विषयमा कुराकानी भएको बताइएको छ । प्रचण्ड आज साँझ भारतको राजधानी नयाँदिल्ली जाँदैछन्।
विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेकपाको प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड आइतबार साँझ दिल्ली जान लागेका हुन्। सन्देशसभा सोमबार दिउँसोको लागि तय भएको छ।
नजिकिँदै गरेको राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा एमाले र नेकपाबीच गठबन्धनको लागि पछिल्लो समय भित्रभित्रै छलफल चल्न थालेको छ। त्यसकै तयारी स्वरुप प्रचण्ड र ओलीबीच आज छलफल भएको हो।
जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनमा रास्वपासहितका नयाँ शक्तिले सिर्जना गर्नसक्ने चुनौतिलाई लिएर पुराना दल त्रसित छन्। सोही कारण पुराना दलबीच सहकार्यको लागि विभिन्न ढंगले आन्तरिक छलफल सुरु भएको छ।
प्रतिक्रिया