२०८२ माघ १६ गते
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत भई लागू भइसकेको छ। आयोगले यो बीचमा आचारसंहिता उल्लङ्घनका घटनामा तोकिएका निकायले उजुरी तथा जानकारी लिने र उल्लङ्घनमा संलग्न भएका भनिएका राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, निकाय र पदाधिकारीसँग आवश्यक स्पष्टीकरण लिने कार्य गर्दै आएको छ।
माघ १४ गते सम्म राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधिएकोमा पाँच वटा जवाफ प्राप्त भएको र बाँकी जबाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ । आचारसंहिता कार्यान्वयन तथा निर्वाचनलाई आर्थिक रूपमा पारदर्शी बनाउन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन खर्चका लागि अलग्गै बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिएकोमा नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई परिपत्र भइसकेको आयोगको भनाई छ।
साथै जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा ५ र २३ तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २(ख) एवम् निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम सतहत्तरवटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकहरूलाई आर्थिकसँग सम्बन्धित विषयमा फर-(फरक कार्य जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृतसमेत तोकि सकिएको समेत जानकारी गराएको छ।
प्रतिक्रिया